मतदाता नामावली अद्यावधिक गर्ने समय लम्ब्याउन माग



पाँचथर, ९ माघ
जिल्ला स्थित सरोकारवालाहरुले निर्वाचन आयोगद्वारा तय भएको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमको समय लम्ब्याउन माग गरेका छन् ।

आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालयले यहाँका स्थानीय तहहरुमा यही माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम तय गरेको छ । उक्त अवधि लम्ब्याएर माघ मसान्तसम्म पु¥याउन राजनीतिक दल तथा नागरिक क्षेत्रका अगुवाहरुले माग गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरले आज फिदिममा आयोजना गरेको अन्तरक्रियाका सहभागी सरोकारवालाहरुले छोटो समयमा सबै मतदाताहरुले आफ्नो विवरण अद्यावधिक गर्न नसक्ने भन्दै समय लम्ब्याउन माग गरेका हुन् । सरोकारवालाहरुले मतदान गर्ने उमेर पूरा भएका तर वैदेशिक रोजगारीमा रहेका कारण मतदाता नामावलीमा नाम समावेश गर्न नपाएका मतदाताहरुलाई समेट्ने प्रवन्ध गर्न आग्रह गरे ।

जिल्लाका केही वडामा मतदान स्थल थप्नुपर्ने आवश्यकता रहेको वताउँदै सरोकारवालाहरुले निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपरे सो समेत गर्न माग गरे । सरकारद्वारा यहि वैशाक १७ र २७ गतेका लागि आकस्मिक रुपमा निर्वाचनको घोषणा भएकाले मतदानसम्बन्धी ब्यवस्थामा परिवर्तन आउनुपर्ने उहाँहरुको माग छ ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सरोकारवालाको मागलाई आयोगमा पठाइने र मतदाताले सहज रुपमा मतदान गर्ने ब्यवस्था गर्न पहल गरिने वताउनुभयो ।

पाँचथरमा हाल कूल एक लाख ३२ हजार ७९८ जना मतदाता रहेका छन् जसमध्ये महिला ६३,५८६ जना र पुरुष ६९,२१२ जना छन् । प्रतिनिधिसभा सदस्यको एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १०१ मतदान स्थल तथा १७० मतदान केन्द्र छन् । जिल्लामा हाल सबैभन्दा बढी फिदिम मा.वि. खेलमैदान मतदान स्थलमा ४ वटा मतदान केन्द्र रहेका छन् ।

मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहका कर्मचारीहरुलाई सहायक नाम दर्ता अधिकारी नियुक्त गरी कार्य सम्पादन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा सबै मतदाताहरुलाई नामावलीमा आफ्नो नाम तथा अन्य विवरण हेर्ने एवं अद्यावधिक गर्नका लागि सहज पहुँज प्रदान गरिने कार्यालयले जनाएको छ ।

सहायक नाम दर्ता अधिकारीहरुलाई आवश्यक सामग्री, मतदाता नामावली तथा अभिमुखिकरण कार्यक्रम निर्वाचन कार्यालयले प्रदान गर्ने कार्यालयका निमित्त प्रमुख सरोज मेहताले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्