फिदिमको तुम्रोक होटलमा प्रेमिकालाई गोली प्रहार गरी फरार आङ्बोहाङ १० वर्षपछि पक्राउ



पाँचथर, ९ माघ

आफ्नै ‘प्रेमिका’लाई गोली प्रहार गरी फरार रहेका ब्यक्तिलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

वि.सं. २०६७ असोज १० गते फिदिम स्थित एक होटलमा एक युवतीमाथि गोली प्रहार गरी फरार रहेका ताप्लेजुङको साविक चाँगे गाविस वडा नं. १ का २६ वर्षीय पवन आङ्बोहाङ भनिने मुकुमहाङ लिम्बू आङ्बोहाङलाई प्रहरीले हिजो काठमाण्डौंबाट पक्राउ गरेको हो ।

आङ्बोहाङले प्रेमिका भनिएकी पाँचथरको साविक सिवा गाविस वडा नं. १ घर भएकी सुस्मा तुम्रोकलाई फिदिम स्थित तुम्रोक होटलमा गोली प्रहार गरी फरार भएका थिए । तुम्रोक छातीको बायाँ भागमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन् । घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको थियो ।

फरार रहेका आङ्बोहाङलाई जिल्ला प्रहरी कार्यालयबाट एक प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले महानगरीय प्रहरी परिसर तथा प्रहरी वृत्त वौद्धसँगको समन्वयमा काठमाण्डौंको गोकणेश्वर नगरपालिकाको मुलपानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

घटनाको समयमा १७ वर्षका आरोपित आङ्बोहाङ ब्रिटिस सेनामा भर्ना हुने प्रकृयामा ताप्लेजुङबाट झापा गएका थिए । झापाबाट ताप्लेजुङ फर्कने क्रममा मृतकसँग गाडीमा यात्रा गरी सगँै होटलमा बसेका थिए । विहान ८ बजे गोली चलेको आवाज आएपछि होटल सञ्चालक तथा स्थानीयवासीले युवती गोली लागेको अवस्थामा मृत फेला पारेका थिए ।

सोही समयदेखि फरार रहेका आङ्बोहाङ विवाह गरी काठमाण्डौंमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । आरोपितलाई फिदिम ल्याई मुद्धा प्रकृया अगाडि बढाइएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्