विपन्न समुदायका ९७ विद्यार्थीलाई समृद्ध पाँचथरको न्यानो कपडा



पाँचथर, ३ माघ

पाँचथरको फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका ९७ जना विद्यार्थीहरुलाई समृद्ध पाँचथरले न्यानो कपडा वितरण गरेको छ ।

विशेषत तामाङ र माझी समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा दुई दर्जन बढी साहराविहीन बालबालिका अध्ययनरत छन् । चिसोका कारण उनीहरुको पठन–पाठनमा असर हुन नदिने उद्देश्यसहित समृद्ध पाँचथरले न्यानो कपडा वितरण गरेको हो ।

आज उक्त विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्वीटर सहितका न्यानो कपडा वितरण गरियो । संस्थाकी अध्यक्ष भूमिका सुब्बा, सचिव पुण्यप्रसाद दुलाल, सहसचिव सर्मिला खापुङ लगायतले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

न्यानो कपडा वितरण गर्दै संस्थाकी अध्यक्ष भूमिका सुब्बाले समृद्ध पाँचथर नयाँ संस्था भएपनि स्रोत जुटाएर विपन्न परिवारका बालबालिकालाई विद्यालय आउन प्रोत्साहन गर्ने प्रयास गरिएको वताउनुभयो ।

“पारिवारीक अवस्थाका कारण कुनै पनि बालबालिकाको पठन–पाठनमा समस्या नहोस् भन्ने उद्देश्यले सानो सहयोगको प्रयास गरेका हौँ”, सुब्बाले भन्नुभयो, “हाम्रो सहयोगले बालबालिकाहरुको शैक्षिक लगाव र मेहनत बढ्ने विश्वास छ ।”

समृद्ध पाँचथरकी सहसचिव सर्मिला खापुङ तथा स्थानीय अगुवा भीम तामाङले लामो समयदेखि गरेको आग्रहअनुसार आफू सहित संस्थामा आवद्ध पदाधिकारी तथा सदस्यहरुको ब्यक्तिगत खर्चमा बालबालिकाहरुलाई सहयोग गरिएको उहाँले वताउनुभयो ।

आगामी दिनमा समेत विपन्न समुदायका र साहराविहीन बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अध्यक्ष सुब्बाले उक्त विद्यालयमा आवश्यक पूर्वाधार निर्माण तथा विद्यालय सञ्चालनका लागि स्रोत वृद्धिका लागि समेत आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

संस्थाका सचिव पुण्यप्रसाद दुलालले संस्थामा ठूलो धनराशी नभएको अवस्थामा विशेषत अध्यक्ष सुब्बाकै विशेष लगानीमा बालबालिकालाई सहयोग गर्न पाइएको भन्दै आगामी दिनमा समेत बालबालिकाका क्षेत्रमा क्रियाशील रहने वताउनुभयो ।

बाल संगठन पाँचथरका सभापति कृष्ण ओझाले पारिवारीक अवस्थाका कारण बालबालिकाले शिक्षा लिने अवसरबाट बञ्चित हुने, कुनै प्रकारको हिंसा र जवरजस्ती श्रममा लगाउने जस्ता कार्यको निरुत्साहनमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अनेरास्ववियूकी स्थायी समिति सदस्य कल्पना वाइवा, संस्थाका सहसचिव सर्मिला खापुङ, संस्थाका सदस्यद्वय फूलमाया आङ्बो र पुनम तामाङ लगायतको समेत उपस्थिति थियो ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइटेलका अनुसार उक्त विद्यालयमा अहिले ९७ जना विद्यार्थी अध्ययरत छन् । उनीहरुमध्ये अधिकांश यहाँका तामाङ र माझी समुदायका बालबालिका हुन् । जसमध्ये २५ जना अतिविपन्न तथा साहराविहीन बालबालिका छन् ।

ती २५ जना बालबालिका विद्यालयमै रहेको आवाशमा रहेर पठन–पाठन गर्दै आएका छन् । अभिभावकले वेवास्ता गर्दा समस्यामा परेका बालबालिकाहरुलाई फिदिम नगरपालिकाको सहयोगमा आवाशीय पठन–पाठनको प्रवन्ध गरिएको हो ।

यहाँ अध्ययन गर्ने अधिकांश बालबालिकाका परिवार विपन्न वर्गका रहेकाले आगामी दिनमा सबै विद्यार्थीलाई आवासमा राखेर पढाउने योजनालाई पूर्णता दिन सहयोग गर्न प्रधानाध्यापक लुइटेलले आग्रह गर्नुभयो ।

कक्षा ५ सम्म सञ्चालित विद्यालयलाई कक्षा ८ सम्म विस्तार गर्न तथा जिल्लामा अलपत्र परेका सबै बालबालिकालाई ल्याई अध्यापन गराउने शैक्षिक संस्था बनाउन सहयोग गर्न विद्यालय ब्यवस्थापन समितिका अध्इक्ष बीर्खबहादुर तामाङले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्