समृद्धिको अभियानमा सञ्चार जगतको साथ अत्यावाश्यकः मन्त्री नेम्वाङ



पाँचथर, २ माघ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सरकारले चालेको समृद्धिको अभियानमा सञ्चार जगतको साथ अत्यावाश्यक रहेको वताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको वार्षिक साधारणसभाको आज फिदिममा उद्घाटन गर्दै मन्त्री नेम्वाङले सरकारले लिएको समृद्धिको यात्रालाई गन्तब्यमा पु¥याउने महत्वपूर्ण सारथी सञ्चार जगत पनि भएको वताउनुभएको हो ।

“आम सञ्चार क्षेत्रले सिर्जनात्मक, रचनात्मक र तथ्यपरक ढङ्गले दिने सल्लाह र सुझाव सरकारलाई सधैँ आवश्यक हुन्छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “आम जनतालाई विकासको मूल प्रवाहमा पु¥याउने सरकारी जिम्मेवारीको हिस्सा सञ्चार जगतको पनि रहन्छ ।”

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने संघर्षमा सञ्चार जगतले विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै मन्त्री नेम्वाङले अब उपलब्धिहरुको जगमा अघि बढ्ने क्रममा सञ्चार जगतले समेत फाइदा लिने स्थिति निर्माण भएको वताउनुभयो ।

“पत्रकारिता क्षेत्रलाई सवलिकरण गर्ने उद्देश्यसहित वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु लिँदै आएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “आम सञ्चारलाई थप सुदृढ र ब्यवस्थित बनाउन विभिन्न ऐन, कानूनहरुमा ल्याइएका छन् ।” सञ्चार क्षेत्रलाई बाधा पर्ने कुनै पनि कानून नबन्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले त्यस प्रकारका कुनै पनि शंका ब्यक्त नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले पत्रकारिता जगतले विकास र समृद्धिको अभियानलाई सधै साथ दिँदै आएको वताउँदै स्थानीय सरकारले पनि पत्रकारहरुसँग हातेमालो गरेर अघि बढ्ने वताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले नकारात्मक चिन्तन र प्रचारलाई कम गर्दै सकारात्मक सुझाव र कमजोरी औँल्याउने कार्यमा पत्रकारिता जगत झनै सुदृढ र परिस्कृत हुनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको अवसरमा खेलकुद तथा वातावरण पत्रकारिता पुरस्कारबाट शान्तिदेवी राई, जङ्गबहादुर तामाङ, दीपक बोहोरा र उपेन्द्र एक्तेन पुरस्कृत भएका छन् । साधारणसभा आजै सम्पन्न भएको शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्