

पाँचथर, २ माघ
स्वास्थ्य बीमा बोर्डले पाँचथरमा स्वास्थ्य बीमा सदस्यता दर्ता आरम्भ गरेको छ ।
आज (शुक्रवार) विहान फिदिममा आयोजित शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले फिदिम नगरपालिका वडा नं. १ का ८५ वर्षीय भीमनाथ भट्टराईलाई स्वास्थ्य बीमा सदस्यता पत्र हस्तान्तरण गरी दर्ता आरम्भ गर्नुभएको हो ।
भट्टराईसँगै आजै यहाँका छ जना जेष्ठ नागरिकहरुलाई बीमा सदस्यता पत्र प्रदान गरिएको छ । २०७२ चैत २५ गतेबाट सुरु भएको स्वास्थ्य बीमाको कार्यक्रम ६५औँ जिल्लाको रुपमा पाँचथरमा आजबाट सुरु भएको हो ।
बीमा दर्ता शुभारम्भपछि बोल्दै मन्त्री नेम्वाङले पैसा नभएकै कारण उपचार नपाउने र उपचार नपाएर ज्यानै जाने अवस्थाको स्वास्थ्य बीमा कार्यक्रमले अन्त्य गर्ने वताउनुभयो । आफ्नै गृह जिल्लामा स्वास्थ्य बीमाको शुभारम्भ गर्न पाउँदा खुशी लागेको वताउँदै मन्त्री नेम्वाङले स्वास्थ्य बीमा कार्यक्रमलाई चाँडै सबै जिल्लामा विस्तार गरी सबै नागरिकलाई बीमामार्फत स्वास्थ्य सेवाको पहुँचमा पु¥याइने वताउनुभयो ।
“एकातिर सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण थालेको छ भने अर्कातिर बीमा मार्फत सबै नागरिकलाई रु. १ लाखसम्मको उपचार गर्ने ब्यवस्था गरेको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “यी सबै काम सुखी नेपाली निर्माणको अभियानअन्तर्गत भएका हुन् ।”
बीमा कार्यक्रममा दर्ता हुन रु. ३५०० बुझाउन नसक्ने परिवारका लागि स्वास्थ्य बीमा बोर्डले सहयोग गर्नेछ । यसमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरु, अतिविपन्न भनि संघीय सरकार वा स्थानीय तहबाट सूचिकृत परिवारहरु, अशक्तहरु, कुष्टरोगका विरामीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुले कुनै शुल्क नबुझाई बीमा गर्न सक्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले उक्त शुल्क बुझाउन नसक्ने तथा परिभाषित रुपमा छुट नपाउने परिवारहरुलाई सहयोग गर्न स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बर्तौलाले मन्त्री नेम्वाङलाई समेत बीमा सदस्ता दर्ताको पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले स्वास्थ्योपचारमा लाग्ने अस्वभाविक खर्च बीमा कार्यक्रमले रोक्नुका साथै सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने भन्दै खुशी ब्यक्त गर्नुभयो ।
उहाँले जिल्लाका सबै जनप्रतिनिधिहरुलाई यो स्वास्थ्य बीमा दर्ताको अभियानका सघाउ पु¥याउन आफूले आह्वान गर्ने समेत उल्लेख गर्नुभयो । स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्रबहादुर थापाले सबै नागरिक बीमा कार्यक्रममा आवद्ध भई सरकारले पूरा गर्ने जिम्मेवारीमा आफूले दायित्व पूरा गर्नुपर्ने वताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक डा. बर्र्तौलाले अब सबै स्थानीय तहमा आधारभूत अस्पताल चाँडो निर्माण गर्नुपर्ने तथा रु. १ लाखको उपचारको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । पाँचथरमा स्वास्थ्य बीमा दर्ताका लागि ८० जना दर्ता सहयोगी समेत छनौट भई तालिम सम्पन्न भएको डा. वर्तौलाले जानकारी दिनुभयो ।