पाँचथरका पाँच स्थानीय तहमा साना सिंचाई कार्यक्रम सञ्चालन हुने



पाँचथर, २४ पुस
पाँचथरका पाँच वटा स्थानीय तहहरुमा ‘साना सिंचाई कार्यक्रम’ सञ्चालन हुने भएको छ ।

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पाँचथरका फिदिम नगरपालिका, याङवरक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालन हुने भएको हो ।

आर्थिक रुपले विपन्न तथा साना किसानहरुको कृषि उत्पादकत्वमा वृद्धि गरी गरिबी न्यूनिकरणमा सघाउ पु¥याउने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत पाँच हेक्टरदेखि ५० हेक्टर क्षेत्रफलसम्मको जमिन सिंचित गर्न साना सिंचाई योजना निर्माण हुनेछन् ।

कार्यक्रमको ढाँचाअनुसार सिंचाई योजनाका लागि स्वीट्जरल्याण्ड सरकारको ३० प्रतिशत, संघीय सरकारको २० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत, स्थानीय तहको २० प्रतिशत र उपभोक्ताहरुको १० प्रतिशत लगानी रहने साना सिंचाई कार्यक्रम इलाम–पाँचथर क्लष्टरका संयोजक केशव लामाले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनका लागि पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको लामाले जानकारी दिनुभयो । यहाँका बाँकी स्थानीय तहहरुमा समेत चाँडै समझदारी गरी कार्यक्रम कार्यान्वयनमा ल्याइने उहाँको भनाई छ ।

साना सिंचाई कार्यक्रमका लागि प्रदेश नं. १ मा रु. ५ अर्ब ६८ करोड बजेट रहेको छ । इलाम र पाँचथर क्लष्टरमा २१ वटा साना सिंचाई योजना निर्माणका लागि समझदारी गर्ने क्रममा रहेको क्लष्टर संयोजक लामाको भनाई छ ।

“लागत कम हुने हुँदा स्थानीय तहहरुले जति धेरैमा लगानी गर्न सके, त्यति नै धेरै सिंचाई योजना निर्माण गर्न सकिन्छ”, लामाले भन्नुभयो, “खेतीयोग्य जमिनलाई सिंचित गरी खाद्य आत्मनिर्भरताका लागि यो ठूलो अवसर हो ।” साना सिंचाई कार्यक्रम र स्थानीय तहहरुवीच चार वर्षका लागि कार्यक्रम कार्यान्वयन गर्ने समझदारी भइरहेको हो । चार वर्षमा क्रमागत रुपमा सिंचाईका योजनाहरु निर्माण गरिनेछन् ।

हिँजो यहाँको फिदिम नगरपालिकामा कार्यक्रम कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । फिदिम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी तथा कार्यक्रमका तर्फबाट क्लष्टर संयोजक लामाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

फिदिम नगरपालिकामा यसअघि नै दुई वटा साना सिंचाई योजना कार्यान्वयन भइरहेको लामाले जानकारी दिनुभयो । उक्त अवसरमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकाको थोरै लगानीमा कृषकहरुले ठूलो लाभ प्राप्त गर्ने योजना बन्न लागेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्