अनेरास्ववियूको कार्यकर्ता भेला सम्पन्न, सुवेदी संयोजक चयन



पाँचथर । पाँचथरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।

फिदिममा आयोजित भेलाले नारायण सुवेदीको संयोजकत्वमा ११५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले ११ सदस्यीय जिल्ला कार्यालय कमिटी गठन गरेको र जिल्ला कमिटीको आगामी बैठकले सचिवालय गठन गर्ने उक्त संगठनका केन्द्रीय सचिवालय सदस्य श्री माङयुङले जानकारी दिनुभयो ।

अनेरास्ववियूकी केन्द्रीय कार्यालय सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा आयोजित भेलाको उद्घाटन कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्वाङ, राजकुमार भण्डारी, आशारत्न जवेगू तथा करुणा नेम्वाङ र अनेरास्ववियूकी स्यायी कमिटी सदस्य कल्पना वाइबाले सम्बोधन गर्नुभएको थियो ।

अनेरास्ववियूकी नेतृ बरालले मुलुक र समाजको रुपान्तरणमा ऐतिहासिक भूमिका खेलेको अनेरास्ववियू अब पनि त्यहि भूमिकामा रहने वताउनुभयो । सामाजिक समस्याहरुको समाधान, शैक्षिक रुपान्तरण र सर्वसुलभ शिक्षाका निम्ति आगामी दिनमा पनि अनेरास्ववियू संघर्षरत रहने उहाँको भनाई थियो ।

अनेरास्ववियूकी नेतृ कल्पना वाइबाले शैक्षिक समस्याहरुको समाधान, युवा विद्यार्थीको ब्यक्तित्व विकासमा अनेरास्ववियू नै सधैँ अगाडि हुने वताउनुभयो । उहाँले सरकारले विपन्न नागरिकको घर निर्माण, घरमा जस्तापाता लगाउने, विद्युतिकरण, शैक्षिक क्षेत्रको सुधारमा थालेको प्रयासको आम विद्यार्थीहरुले प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओली पक्षीय अनेरास्ववियू नेकपाको विभाजनपछि जिल्लामा कमिटी निर्माण गर्ने पहिलो संगठन बनेको छ । भेलाबाट संयोजक चयन भएका सुवेदी नेकपा विभाजनअघि अनेरास्ववियू पाँचथरको सह–संयोजक थिए ।

भेलामा जिल्लाका आठ वटै स्थानीय तहका मुख्य माध्यमिक विद्यालयहरु तथा चार वटै क्याम्पसबाट प्रतिनिधिहरु सहभागी भएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र तुम्बापोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्