पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा



पाँचथर । पाकेर विक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् ।

सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषकहरु चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक परिवार मर्कामा परेका छन् ।

रानीटारको नाङलपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बा लगायत टोलमा करीब चार सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो । हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ ।

“पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ”, थेबेले भन्नुभयो, “यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको पाएका छौँ ।” मुख्य आम्दानीको स्रोतको रुपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी समाप्त भएको अर्का कृषक जयबहादुर नेम्वाङले वताउनुभयो ।

कृषकहरुको गुनासोपछि फिदिम नगरपालिकाले प्राविधिक पठाई सुन्तला कुहिएर झर्ने समस्याको अनुगमन गराएको छ । फिदिम नगरपालिकाको कृषि शाखाका प्रमुख यामबहादुर संग्रौलाका अनुसार सुन्तलामा ‘फ्रूट फ्लाई’ नामको किराको सङ्क्रमण देखिएको छ ।

झिंगा जस्तो यो किराले पाकेको फल कुहाउने गर्छ । “पोथी किराले फल छेडेर भित्र पसी फुल पार्ने काम गर्छ । फुल लार्भा भएपछि सुन्तला लगायत फल कुहाएर क्षति गर्छ”, संग्रौलाले भन्नुभयो ।

फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामक विषादी मिलाएर छर्केको अवस्थामा यो किराको समस्या नहुने उहाँको भनाई छ । फलमा लागेको किरा भने नियन्त्रण गर्न नसकिने संग्रौलाले वताउनुभयो ।

यस वर्ष अत्यधिक वर्षाका कारण सुन्तलाको फल नै कम लागेको थियो । पाकेको सुन्तला पनि विगतका वर्षको जस्तो स्वादिष्ट छैन् । अधिक वर्षाकै कारण विगतका वर्षको जस्तो स्वाद नभएको जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का कृषक रुपा लावतीको भनाई छ ।

यस वर्ष चाँडै चिसो सुरु हुँदा सुन्तलामा स्वाद नभएको कृषकहरु वताउँछन् । जिल्लाका आठ वटै स्थानीय तहहरुमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका कुरुम्बा, आङसराङ, रानीगाउँ, फाक्तेप, फिदिम, रानीटार लगायत स्थानमा बढी सुन्तला उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्