प्रतिनिधिसभा विघटनको विरोधमा फिदिममा प्रदर्शन



पाँचथर । प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूह पाँचथरले आज सदरमुकाम फिदिममा विरोध प्रदर्शन गरेको छ ।

उक्त पार्टीको घोषित देशब्यापी प्रदर्शनको कार्यक्रमअनुसार फिदिममा विरोध र्‍याली र सभा सम्पन्न भएको हो । नेकपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस फिदिम बजारको परिक्रमा गरी गणतन्त्र चोकमा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध कार्यक्रमका लागि जिल्लाका आठै स्थानीय तहबाट नेकपाका नेता, कार्यकर्ता जम्मा भएका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै जिल्ला स्थित नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई संकटमा पारेको आरोप लगाए । नेकपाका नेता एवं प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङले कम्युनिष्ट नेतृत्वबाटै संघीयता र गणतन्त्र खतरामा पर्न लागेको वताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको वताउँदै यहि कारण कम्युनिष्ट आन्दोलनमा धक्का लागेको वताउनुभयो ।

संविधानसभा सदस्य एवं पूर्वमन्त्री श्रीप्रसाद जबेगूले बाम गठबन्धनले पाँच वर्षका लागि सरकार सञ्चालनको जिम्मेवारी पाएको भएपनि वीचैमा आन्दोलनमा उत्रनुपर्दा दुःख लागेको वताउनुभयो । सरकारले गैरकानूनी र गैरसंवैधानिक कदम चाल्दा मुलुकको भविश्य नै अन्योलमा परेको उहाँको भनाई थियो ।

नेकपाका प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङले विगतको आफ्नै नेता नयाँ राजाको रुपमा उदय हुन लागेको आरोप लगाउनुभयो । उहाँले सडक संघर्षबाट ‘प्रतिगमन’लाई सच्याइने वताउनुभयो । नेम्वाङले आफूहरुसँग स्पष्ट बहुमत रहेकाले पार्टीको नाम र सूर्य चिन्ह आफ्नै हुने वताउनुभयो ।

कार्यक्रममा नेकपाका सचिव होमबहादुर जबेगू, कार्यालय सदस्य तिवेन्द्रराज चापागाईं लगायतले समेत सम्बोधन गर्नुभएको थियो । नेकपाको प्रचण्ड–माधव नेपाल समूहसम्वद्ध युवा तथा विद्यार्थी संगठनहरुले एक सातायता देशका अन्य जिल्लामा जस्तै पाँचथरमा समेत प्रदर्शन गर्दै आएका छन् ।

यसअघि हिँजो नेपाली काँग्रेसले जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ राँकेमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्