शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित



फिदिम । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

हिजो (शनिवार) मात्रै आर्थिक मामिलामन्त्रीबाट बर्खास्त भएका इन्द्रबहादुर आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम प्रदेश सचिवालयमा आज बिहान १०ः४३ बजे अविश्वास प्रस्ताव दर्ता भएको हो ।

अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम तत्कालै प्रदेशसभा बैठक बोलाउन पनि माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेशसभा सदस्य शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकारको विघटनपछि सदस्य आचार्यलाई नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

सो प्रस्तावका प्रस्तावकमा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो र समर्थकमा प्रदेशसभा सदस्य लछुमण तिवारी छन् । प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक(एक गरी कुल ९३ सदस्य छन् ।

आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको छ।

प्रतिक्रिया दिनुहोस्