पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलो मन्दिरमा पुग्ने सम्भावना कम



ताप्लेजुङ । पाथीभरा मन्दिर आसपासको वन क्षेत्रमा लागेको आगो मन्दिर क्षेत्रमा पुग्ने जोखिम तत्काललाइ टरेपनि नियन्त्रणमा भने आएको छैन ।

मन्दिरबाट करिव २ किलोमिटर तल मात्रै आगो रहेको र अहिले सम्मको अवस्थामा मन्दिरमै पुग्ने जोखिम नरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । हावाको बेग धेरै भए आगो दन्किने अवस्था भने यथाव्त रहेको उहाँले बताउनुभयो । आगो निभाउने क्रम भने जारी रहेको काफ्लेले जानकारी दिनुभयो ।

पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र मतहले अहिले पनि आगो निभाउने क्रमा जारी रहेको बताउनुभयो । “हिजो जस्तो आगो छदैंछैन, आगोको नजिक पानीको एउटा सानो मुहान समेत फेला परेकोले सकेसम्म निभाउने क्रम चलिरहेको छ” उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको फलैंचा र सशस्त्र प्रहरीले बनाएको चौतारोको बीच भागबाट जंगलतिर पस्दा मन्दिरतर्फको भागमा जाने बाटो तिर रहेको खोल्सोले अग्नि रेखाको काम गर्ने अवस्था देखिएकोले ठूलै आगोको दन्काइ र बेजोडको हावाहुरी चलेको अवस्था बाहेक आगो मन्दिरतर्फ जाने सम्भावना कम भएको महतले जानकारी दिनुभयो ।

“त्यो खोल्सामा पानी त छैन, तर खोल्सोले अग्नि रेखाको काम गर्न सक्छ” उहाँले भन्नुभयो । यो अवस्थामा आगो मन्दिरमै पुग्ने सम्भावना भने कम हुँदै गएको उहाँको बुझाइ छ । अहिले पनि त्यहाँ आगो निभाउने प्रयास भने जारी रहेको उहाँले जानकारी दिनुभयो ।

शनिवार सदरमुकाम फुङ्लिङबाट गएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली फिरेर अर्को टोली पुनःडढेलो क्षेत्रतर्फ लागेको छ । महतले त्यो टोली आउँदै गरेको खबर आफूले पाएको जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समिति र पाथीभरा क्षेत्रका नागरिक भने अहिले पनि पाथीभरा क्षेत्रमै रहनु भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्