गैरनेपालीलाई नागरिकता बनाइदिने प्रशासकीय अधिकृतसहित तीन पक्राउ



झापा । तीन जना गैरनेपालीलाई नागरिकता बनाइदिएको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख तथा प्रशासकीय अधिकृत धन्नजय साह, सहयोगी कर्मचारी आसिर आलम र गौरादह नगरपालिका ७ का स्थानीय कृष्ण तिम्सिनालाई पक्राउ गरेको हो। तिम्सिना वडा कार्यालयमा लामो समयदेखि बिचौलियाको काम गर्दै आएका थिए।

प्रशासन कार्यालय झापाको आदेशमा प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षकसहित गएको प्रहरी टोलीले उनीहरूलाई शनिबार बेलुका पक्राउ गरी जिल्ला ल्याएको छ। किर्ते नागरिकताको विषयमा थप अनुसन्धान थालेको छ।

यस्तो छ घटना

गौरादह नगरपालिका–७ नम्बर वडा कार्यालयको किर्ते छाप र वडा अध्यक्ष बलराम खरेलको किर्ते हस्ताक्षर गरी तीनजना गैरनेपालीलाई नागरिकता प्रमाणपत्रका लागि सिफारिस कागजात बनाइएको थियो। करिब एक महिनाअघि भएको किर्ते नागरिकताको घटना विषयमा वडाध्यक्ष बलराम खरेलले सूचना पाएका थिए।

त्यसपछि वडा अध्यक्ष खरेलले सो विषयमा छानबिनका लागि गोप्य रुपमा अनुसन्धान विभागका एक कर्मचारीलाई अनुरोध गरेका थिए। किर्ते नागरिकताको विषयमा खोज्दै जाँदा सर्वधन राई नाम गरेको व्यक्तिले सनाखत गरेको देखिन्छ। राईले नक्कली बाबु बनेर छोराहरू विशाल राई, अमृत राई र छोरी दीपिका नाममा नागरिकता अनुसूचीमा सनाखत गरिएको देखिन्छ।

नागरिकताको अनुसूची १ मा कार्तिक २७ गते वडा कार्यालयबाट लगिएको तर कार्यालयमा त्यसको कुनै अभिलेख नभएको वडाध्यक्ष खरेलले बताए। खरेलले भने, कार्तिक २७ गते आफूले नागरिकताका लागि कुनै व्यक्तिलाई पनि सिफारिस गरेको छैन।

“कार्तिक २८ गते ती नाम गरेका मानिसहरूले काठमाडौँमा पासपोर्टका लागि वडा कार्यालयमा कागजात पेस गरेपछि उनीहरूको नागरिकतामाथि शंका लागेको हो” वडा अध्यक्ष खरेलले भने, “त्यसपछि घटनाको विषयमा इलाका प्रशासन कार्यालय गौरीगञ्जमा पुगेर घटनाको आन्तरिक छानबिन सुरु गरेको थियो।”

उक्त विषयमा अनुसन्धान विभागलाई पनि जानकारी गराइएको थियो। “नक्कली बाबु भनेर सनाखत गरेका राई र उनका छोराछोरी मेरा वडाका बासिन्दा नै होइनन्। उनीहरूले बनाएको किर्ते नागरिकतामा ठेगाना पुरानो जुरोपानी गाविस वडा नम्बर ८ खुलाइएको छ” उनले भने।

प्रहरीले छानबिन गर्दैछः प्रजिअ तिमल्सिना

घटनाको विषयमा प्रहरी कार्यालय झापाले केही खुलाउन चाहेको छैन। प्रशासन कार्यालय झापाले किर्ते नागरिकता घटनाको विषयमा अनुसन्धानको लागि प्रहरी कार्यालय झापालाई पत्राचार गरी सकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। “घटनाको अनुसन्धानका लागि प्रहरीलाई अधिकार दिइसकेका छौँ” प्रजिअ तिमल्सिनाले भने, “अहिले नै केही भन्न मिल्दैन, अनुसन्धान सकिएपछि कुरा बाहिर ल्याउँछौ ।”

किर्ते नागरिकताको विषयमा उनीहरूमाथि उजुरी परेपछि सिआइबीमार्फत प्रहरीले अनुसन्धान थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए। यता प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए। “अनुसन्धान सकिए लगत्तै सबै विवरण मिडियालाई दिन्छौं उनले भने। (थाहा खवर डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्