आइसियूबाटै भागे कोरोना संक्रमित



फिदिम । बुटवलको धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित फरार भएका छन्।

फरार भएका संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए। अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल १३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट फरार भएको जानकारी दिए।

आइसियूमा कार्यरत स्वास्थ्यकर्मीसँग शौचालय जान्छु भनी हिँडेका उनी शौचालयबाटै भागेको डा। थापाले जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आइसियूमा भर्ना भएका थिए।

स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले शनिबार डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिए। आइतबार बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ।

शौचालयबाट भागेको देखेपछि अस्पतालका कर्मचारी र कुरुवाहरूले केहीबेर पिछा गरे पनि राजमार्ग पार गरेर जंगलभित्र पसेपछि नियन्त्रणमा लिन नसकिएको डा. थापाले जानकारी दिए। अस्पतालबाट बिरामी भागेको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराए पनि उनको बारेमा अहिलेसम्म जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

भागेका ती पुरूषले बिहान योगीकुटीस्थित एक होटलमा पुगेर परिवारलाई फोन गरेको र त्यसपछि बेपत्ता नै रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ती पुरूषलाई अस्पताल भर्ना हुने बेलामा परिवारका सदस्यले मानसिक औषधी सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीको कारण बिरामी हराएको आरोप लगाएका छन्। आइसियुमा भर्ना भएका बिरामीलाई निगरानीमा नराखी शौचालयमा जाँदा पनि एक्लै जान दिएको उन्दै उनीहरूले आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्