फलाँटेका बालबालिकाले पाए न्यानो कपडा र कापीकलम



फिदिम । शैक्षिक अभियान्ता राधाकृष्ण न्यौपानेले फिदिम नगरपालिका वडा नं. ११ फलाँटे स्थित पाथीभरा आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वीटर र कापीकलम उपलब्ध गराउनुभएको छ ।

अधिकांश विपन्न र दलित समुदायका बालबालिकाले अध्ययन गर्ने यस विद्यालयका तीन दर्जनभन्दा बढी विद्यार्थीहरुलाई चिसो छल्न स्वीटर तथा विद्यालयमा आवश्यक पर्ने कापीकलम उपलब्ध गराइएको हो । शनिवार विद्यालय परिसरमै जनसेवा समाज पाँचथरद्वारा आयोजित शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बालबालिकाहरुलाई स्वीटर र शैक्षिक सागम्री प्रदान गरिएको हो ।

सोक्रममा न्यौपानेले आफ्नो सहयोगले विद्यार्थी र अभिभावकहरुमा गुणस्तरीय शिक्षाका लागि सक्रिय हुने प्रेरणा प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो । “सबै बालबालिका विद्यालय आउन वातावरण बनोस्, अन्य पक्षलाई पनि यसरी नै सहयोग गर्ने प्रेरणा मिलोस् भन्ने मेरो उद्देश्य हो”, न्यौपानेले भन्नुभयो ।

सबै बालबालिकालाई आफूले एक–एक थान स्वीटर किनिदिएको भन्दै उहाँले अव एक–एक थान स्वीटर खरिद गरिदिन अभिभावकहरुलाई आग्रह गर्नुभयो । उहाँले सबै विद्यार्थी विद्यालय जाने वातावरण तयार गर्न समुदाय र स्थानीय तहले सक्रियता देखाउनुपर्ने वताउनुभयो ।

विद्यालयको अवस्था जीर्ण रहेको पाएको भन्दै न्यौपानेले अत्यावाश्यकीय काममा समेत स्थानीय तहको ध्यान नपुग्दा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा नपाएको र यसले सिङ्गो समुदाय र पुस्तालाई नै हानी पुर्याउनेतर्फ सचेत तुल्याउनुभयो ।

कार्यक्रममा उक्त विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद घिमिरे र प्रधानाध्यापक चित्रकला घिमिरेले नगरपालिकाभित्रै र फिदिम बजारको नजिकै रहेर पनि छायाँमा परेको विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालिकालाई न्यौपानेले सहयोग पुर्याएको भन्दै खुशी ब्यक्त गरे ।

प्रधानाध्यापक घिमिरेले विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग गर्न अक्षयकोष स्थापना गर्नुपर्ने, विद्यालयको जीर्ण भवन मर्मत गर्नुपर्ने, विद्यालयमा शिक्षक दरबन्दी थप्नुपर्ने आवश्यकता रहेपनि कहीँ कतैबाट चासो नदिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा स्थानीय सामाजिक अगुवा यामकुमार आङ्बो, फिदिम–११ का वडा सदस्य यज्ञविक्रम न्यौपाने, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी लगायतले समेत आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता प्रदीप बाँस्कोटा, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष विजयबोध लावती लगायतको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्