

पाँचथर, ९ पुष
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
३१ वर्षीय धनबहादुर उभरकोटीले गएराती बन्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउको चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
गएको मध्यरात करीब १ बजे घटना भएको स्थानीयवासीले वताएका छन् । घटना थाहा पाएका छिमेकीहरुले खवर गरेपछि विहान तीन बजे प्रहरी घटनास्थल पुगेको थियो ।
घटनामा सम्लग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले वताउनुभयो । धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ ।
केही स्थानीयवासीका अनुसार धनबहादुरमा मानसिक समस्या रहेको वताएका छन् ।मृतकका दुई जना छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।