तीन मतले पराजित वडाध्यक्षका उम्मेद्वार सहित ११२ जना नेकपामा प्रवेश



पाँचथर, १ पुष

गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार भई तीन मतको अन्तरले पराजित ब्यक्तिसहित ११२ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

गत स्थानीय निर्वाचनमा काँग्रेसबाट फिदिम नगरपालिका वडा नं. १४ को वडाध्यक्षको उम्मेद्वार भई पराजित भएका राजेन्द्र राई, स्थानीय काँग्रेस नेता दिलबहादुर राई सहित ११२ जना स्थानीय नेकपामा प्रवेश गरेका हुन् । वडाध्यक्षका उम्मेद्वार राई तत्कालीन नेकपा (एमाले) का उम्मेद्वार हेमबहादुर फागोसँग तीन मतले पराजित हुनुभएको थियो ।

प्रवेश गर्नेहरुमा १११ जना काँग्रेसका तथा एक जना संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रहेका छन् । हिजो नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रमबाट उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

नेकपामा प्रवेश गर्दै राईले आफूहरु कुनै स्वार्थबाट प्रेरित नभई स्थानीय विकास र रुपान्तरणका लागि नेकपामा प्रवेश गरेको वताउनुभयो । उहाँहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज इन्द्रबहादुर आङ्बोले अविर र माला सहित स्वागत गर्नुभयो । नवप्रवेशीहरुलाई स्वागत गर्दै आङ्बोले सबैलाई उचित जिम्मेवारी दिइने वताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे, प्रदेशसभा सदस्य आशारत्न जबेगू लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा नेकपाका प्रदेश कमिटी, जिल्ला कमिटी तथा फिदिम नगर कमिटीका नेताहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्