सरकारविरुद्ध काँग्रेसको प्रदर्शन



पाँचथर, २९ मङ्सिर

देशब्यापी कार्यक्रमका रुपमा सोमवार नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

यस क्रममा पाँचथरमा काँग्रेस जिल्ला कार्यसमितिले मोटरसाइकल र्याली, विरोध जुलुस र विरोध सभा सम्पन्न गरेको छ । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएका विरोध र्याली फिदिम नगर परिक्रमापछि गणतन्त्र चोकमा विरोध सभामा परिणत भएको थियो ।

सभालाई काँग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन आयोगका संयोजक भीष्मराज आङ्देम्बे तथा जिल्ला कार्यसमितिका सभापति नरेन्द्रकुमार केरुङले सम्बोधन गर्नुभएको थियो ।

नेता आङ्देम्बेले सरकारले राष्ट्रियता, लोकतन्त्र, संघीयताका सवालमा बद्मासी गरेको आरोप लगाउनुभयो । आङ्देम्बेले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटमा राजावादीहरुले आन्दोलन गरेको, संघीयता कमजोर पार्न थालेको, सर्वोच्च शिखर सगरमाथामाथि नेपालको सार्वभौम अधिकारमा चीनलाई जोडेको, भ्रष्टाचार संस्थागत गरेको तथा भ्रष्टहरुलाई संरक्षण गरेको जस्ता आरोप लगाउनुभयो ।

नेता आङ्देम्बेले सरकारले अध्यादेशमार्फत मुलुक चलाउन खोजेको, संवैधानिक अङ्गहरुमा अनावाश्यक हस्तक्षेप गरेको, प्रहरी संरचनामा उपत्यकालाई संघीय इकाईमा राखी संघीयता कमजोर पार्न खोजेको वताउनुभयो ।

उहाँले काँग्रेसले आन्दोलनको सुरुआत मात्रै गरेको र संघर्षका कार्यक्रम जनस्तरसम्म पुर्याइने वताउनुभयो । काँग्रेसको आन्दोलन र सक्रियताबाटै सरकारलाई ‘ठिक’ लगाइने उहाँको दाबी थियो ।

काँग्रेस जिल्ला सभापति केरुङले सरकारले संवैधानिक अङ्गहरु कब्जा गरी सर्वसत्तावाद र अधिनायकवाद लाध्न खोजेको वताउनुभयो भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ राजा बन्न खोजेको तथा सरकार भ्रष्टाचारको आहालमा डुवेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्