‘राँके–रबि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ’



पाँचथर, २९ मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने वताउनुभएको छ ।

निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतवार स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने वताउनुभयो । भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने वताउनुभएको हो ।

“परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस् प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्”, स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्वाङले भन्नुभयो, “जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोहीअनुसारको निर्णय लिन्छ ।”

उक्त सडक निर्माणको ठेक्का पाएको भारतीय कम्पनीका एप्कोका प्रतिनिधिको कुरा सुनेपछि मन्त्री नेम्वाङले निर्माण कम्पनीबाट समस्या सिर्जना गर्ने र दोषारोपण गर्ने काम भएको वताउनुभयो । उहाँले स्थानीयको सुझावका आधारमा निर्णय लिई सडक निर्माणलाई गति दिने दृढता ब्यक्त गर्नुभयो ।

“अहिलेकै गतिले यो सडक समयमा निर्माण पूरा भई जनताले सेवा लिन पाउने अवस्था बन्दैन्”, यही मन्त्रालयको निश्कर्ष हो । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले समस्या सिर्जना गर्ने तर समाधान गरेर निर्माण कार्यलाई द्रूत पार्न नचाहने प्रवृत्तिले समस्या ल्याएको वताउनुभयो ।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवको टोली स्थलगत निरीक्षण गरेको छ । २०७५ पुष २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको १०१ किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करीब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ, मन्त्रालयका सचिव श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगायतको टोलीले आइतवार यो सडकको चिसापानी पञ्चमीदेखि भेडेटारसम्म निर्माण अवस्थाको निरीक्षण गरेको छ । सरकारले विशेष चासोमा राख्दाराख्दै पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि आगामी योजना तय गर्न मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

टोलीले निर्माणको अवस्थावारे स्थानीय जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, निर्माण कम्पनी तथा राँके–रबि–भेडेटार सडक आयोजना कार्यालयसँग अन्तरक्रिया गरेको हो । मन्त्री नेम्वाङले चिसापानी पञ्चमी, कन्याटार, छ नम्बर बुधबारे, राजारानी र भेडेटारमा स्थानीयवासीसँग सडक निर्माणमा भएको ढिलासुस्तीबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

यस्तै राँके–रबि–भेडेटार सडक आयोजना कार्यालयको आयोजनामा पाँचथर–धनकुटा सीमावर्ती छ नम्बर बुधबारेमा सर्वपक्षीय अन्तरक्रिया समेत सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीहरुले ठेक्का तोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा धनकुटाको चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राई लगायतले निर्माण ब्यवसायी गैरजिम्मेवार हुँदा समयमा निर्माण सम्पन्न नहुने अवस्था आएको वताउनुभयो ।

मेची र कोशी राजमार्ग जोड्ने यस सडक कालोपत्रेको २०७५ पुष २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । यस आयोजनाका लागि भारतको आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अमेरिकी डलर ३ करोड २६ लाख १८ हजार ५ सय ४१ मा ठेक्का सम्झौता भएको छ ।

१ सय १ किलोमिटर लामो यो सडकको भारतीय कम्पनी एप्कोले निर्माणको जिम्मा लिएको छ । यति लामो सडक खण्डमा केही ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने भएपनि सडक पुल भने कहीँ पनि निर्माण गर्नु नपर्ने आयोजना प्रमुख अभिमनदास मुल्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्