प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा …



पाँचथर, २८ मङ्सिर

तेह्रथुमको आठराई गाउँपालिका—४ इवा स्थित इवा स्वास्थ्य चौकी तीन वर्षअघि नयाँ भवनमा स¥यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्य चौकी करीब १०० मिटर माथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्य चौकीका तीन दुई वटा भवन, शौचालय लगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्य चौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन । झार पलाउन थाल्यो, स्थानीयवासी भवन भत्किएर जाने आँकलन गर्न थाले ।

गत वर्ष फागुन ११ आफ्नो ६९औँ जन्मदिन आफ्नो जन्मस्थानमा विताउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली पुख्र्यौली घर आठराई—४ इवा आउनुभयो । कतिपयले आलोचना समेत गरेको उहाँको जन्मजयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले इवामा वहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्कनुभयो । प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्य चौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब भने आश्चार्यमा परे । सबैको जिज्ञासा थियो, यहाँ के हुन् लागेको होला ?

नेताहरुका आश्वासन बर्षौँसम्म पूरा हुँदैनन् भन्ने सुनेका उनीहरु पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालनको सुरुआत हुने सुनेपछि उक्त कुरामा विश्वास गर्न छाडे । प्रधानमन्त्रीको घोषणाको आठ महिना नबित्दै पुराना भवन मर्मत भए । नवौं महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारिए । प्राध्यापकहरु आए, विद्यार्थी भर्ना आवदेन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीहरुको सूची सार्वजनिक भयो ।

शुक्रवार प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधर राईबाट वहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भएपछि यहाँका गणेश प्रसाईंले भन्नुभयो, “साँच्चै नेताहरु चाहँदा जे पनि हुने रहेछ । अब वहुप्राविधिक शिक्षालयले यहाँको अवस्था बदल्ने छ ।” शिक्षालय सञ्चालनमा ल्याइएको पुरानो भवन, रनदल आधारभूत विद्यालय र वडा कार्यालय रहेको चोकमा ब्यवसाय सञ्चालन गर्ने प्रसाईं मात्रै होइन्, दुर्गम इवामा वहुप्राविधिक शिक्षालय स्थापना भएपछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानीयवासी खुशी भएका छन् ।

स्थानीयवासीले सोचेका थिए — वहुप्राविधिक शिक्षालयका लागि भवन बन्ला अनि पढाई सुरुआत होला । तर आइतवारबाट यहाँ ८० जना विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थाल्नेछन् । “प्रधानमन्त्री ज्यूको यहाँ जन्म हुनु नै हाम्रो ठूलो भाग्य रहेछ”, इवाका नरेन्द्रकुमार इङ्नामले भन्नुभयो, “प्रधानमन्त्री ज्यूकै पहलमा यहाँ वहुप्राविधिक शिक्षालय स्थापनाले आम आठराईवासी खुशी छौँ ।”

दुर्गम क्षेत्रका निकै कम विद्यार्थीहरुले मात्रै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरेको, तर त्यसका लागि टाढा पुग्नुपर्ने र ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको इङ्नामको भनाई छ । यहाँ स्थापित शिक्षालयले तेह्रथुम सहित छिमेकी जिल्लाहरु पाँचथर र ताप्लेजुङका विद्यार्थीहरुले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

आठराई—४ का वडाध्यक्ष श्यामकुमार भट्टराई प्रधानमन्त्रीले जन्मदिनको अवसरमा गर्नुभएको घोषणाको प्रतिफलस्वरुप वहुप्राविधिक शिक्षालय स्थापना भएको वताउनुहुन्छ । “तेह्रथुममा कुनैपनि प्राविधिक शिक्षालय नभएका कारण हामीले पटक—पटक यसबारे आवाज उठाउँदै आएका थियौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “प्रधानमन्त्री ज्यूले जन्मदिनमा घोषणा गर्नु भएअनुसार नौ महिनामै प्राविधिक शिक्षालयमा पठन—पाठन सुरुआत भएको छ ।”

प्रधानमन्त्री ओलीको घोषणाअनुसार उहाँको जन्मघर छेउ तीनसल्लेमा तत्कालै भवन निर्माण पूरा नभएको अवस्थामा अस्थायी रुपमा शिक्षालय स्थापना भई पठन—पाठन सुरु हुनु झनै खुशीको विषय रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शिक्षाको सुरुआत गर्नुभएको इवा स्थित प्रणामी माध्यमिक विद्यालय विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको वताउनुहुन्छ । “यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्यो, विज्ञान फ्याकल्टी कँही पढाई हुदैनथ्यो”, बुढाथोकीले भन्नुभयो, “आफ्नै ढिडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन् । यो अत्यन्तै खुशीको कुरा छ ।”

आफ्नी छोरीलाई करीब रु. १ लाख ८० हजारमा प्राविधिक शिक्षा पढाइरहनुभएका प्रधानाध्यापक बुढाथोकी आठराईमा करीब रु. ५० हजारको लागतमा सोही तह पठन—पाठन हुने कुराले झनै दङ्ग हुनुहुन्छ । प्रधानमन्त्री जन्म गाउँबाट सुरुआत भएको प्राविधिक शिक्षा विस्तारको कार्य देशका अन्य गाउँहरुमा समेत पुगी वेरोजगार उत्पादन गर्ने शिक्षाको अन्त्य हुने उहाँको विश्वास छ ।

तेह्रथुम बुहप्राविधिक शिक्षालय तेह्रथुमका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदअन्तर्गत इवामा ५९औँ वहुप्राविधिक शिक्षालय स्थापना भएको हो । यहाँ कृषि विज्ञानअन्तर्गत बाली विज्ञान र पशु विज्ञानको अध्यापन हुनेछ । यहाँ तत्कालै ८० जना विद्यार्थीहरु रहने छन् । शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी रहेको भट्टराईले वताउनुभयो ।

प्रधानमन्त्री ओलीको जन्मस्थान तीनसल्लेमा केपी ओली ट्रष्टले शिक्षालयलाई ३० रोपनी जमिन उपलब्ध गराइसकेको छ । तर उक्त स्थानमा भवन निर्माणका लागि गुरुयोजना निर्माण मात्रै सम्पन्न भएको छ । “विस्तृत परियोजना प्रतिवेदन निर्माण हुनेवित्तिकै भवन निर्माण अघि बढाउछौँ”, भट्टराईले भन्नुभयो, “अहिले उपयुक्त ठाउँका रुपमा स्वास्थ्य चौकीका पुराना भवन र एक सामुदायिक भवन भेटिएपछि यहाँ अध्यापन सुरुआत गरिएको हो ।”

दुर्गम ठाउँ भएपनि यहाँ ८० जनाको कोटामा १३६ जना विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा प्राप्त अङ्कका आधारमा ८० जना छनौट भएका छन् । ८० जनाभन्दा कम विद्यार्थी हुने आँकलन गरिएपनि धेरै आवदेन आउनुले प्राविधिक शिक्षामा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण कति छ भन्ने स्पष्ट भएको भट्टराई वताउनुहुन्छ । यहाँ कतिपय अप्राविधिक विषयको अध्यापनका लागि स्थानीय शिक्षकहरुको समेत सहायता लिइने भएको छ ।

तेह्रथुम वहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने हुँदा यस्ता जनशक्ति उत्पादनमा सरकार केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । “दक्ष जनशक्तिले एक त राष्ट्रलाई समृद्ध र सवल बनाउन सहयोग गर्ने भए, अर्को आफैँ स्वरोजगार हुने भए”, मुख्यमन्त्री राईले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले आफैँ पनि वहुप्राविधिक विश्वविद्यालय निर्माणको अवधारणा अघि सारेको छ ।”

ग्रामीण वस्तीहरुमा यस प्रकारका ठूला संरचना निर्माणले त्यहाँ ब्याप्त बेरोजगारी, अशिक्षा, पछौटेपन, पूर्वाधार अभाव, बसाईसराईं जस्ता समस्या समाधानमा सहयोग पुग्ने सामाजिक क्षेत्रका जानकार वताउँछन् । इवाका ब्यवसायी प्रसाईं दैनिक ८० जना विद्यार्थी सहित न्यूनतम १०० जनाको चहलपहल हुँदा स्थानीय स्तरमा आर्थिक तथा ब्यापारिक कारोबार बढ्ने र सेवा तथा सुविधाहरु थपिँदै जानेमा आशावादी देखिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्