चिठ्ठीः मंसिर २४



रविन तिम्सिना ‘कोर्काली’
रविन तिम्सिना ‘कोर्काली’

प्रिय शहीद कमरेड,

लाल सलाम !

मन त लाल सलाम होइन नमस्कार, जदौ, सेवारो, फ्याफुल्ला अथवा यस्तै अन्य आदरार्थी शब्दबाट गर्ने थियो । तर त्यस बखतको तपाईं र म भित्रको आशा, इच्छा, चाहना, जोश, शाहसलाई सम्झेर त्यसो गर्न सकिन । मलाई थाहा छ, हामीसँग ११००० भोल्टको करेण्ट धान्ने हिम्मत थियो । ९ रेक्टर स्केलको भूकम्प झेल्ने शाहस थियो । बम, गोला, बारुद सर्लक्कै निल्ने आँट थियो र त्यो भन्दा धेरै आशा थियो यो देश दासताबाट मुक्त हुन्छ । हामीले लडेको मुक्ति युद्धले गरिखाने वर्गको मुक्ति पाउँछ, गाँस, बास, कपसा, शिक्षा, स्वास्थ्य, रोजगारी हामी सबैले पाउछौँ, कोही भोकै मर्नु पर्दैन्, कोही उपचार नपाएर मर्नु पर्दैन । हो यी र यस्तै आशाले हामीलाई जनयुद्धमा डोहोर्याएको थियो । समता र समानता हामीले चाहेका थियौँ र त्यस्तै समाज निर्माण हुन्छ भनेर नेता कमरेडहरुले भन्नुभएको, सिकाउनुभएको र पढाउनुभएको थियो ।

एउटा साथीलाई चोट लाग्दा अर्कोलाई दुख्थ्यो । एउटा साथी भोकाउँदा अर्कोको गाँस काटेर खान्थ्यौँ । एउटै सिरक पालो–पालो ओढेर कयौँ जाडोहरु काट्यौँ । मच्छडले तपाईंलाई टोक्दा म नसुती धपाउथेँ । मलाई पेट दुख्दा तपाईंको भागको दही मलाई दिनुहुन्थ्यो । आमाले पठाइदिएको खिर सबैजना मिलेर खान्थ्यौँ । अरु त भर अभर चलाएका थियौँ । वास्तवमा हामी कम्युनिष्ट थियौँ । न त २/४ हजारको लोभ गर्यौँ, न त चन्दा उठायौँ, न त अपचलन गर्यौँ । फगत पार्टीको काम माक्र्सवादी सिद्धान्त र लेनिनवादी संगठन संरचना अनुसरण गर्यौँ, जहाँ माओका निर्देशक पथहरु थिए ।

प्रिय कमरेड,

पानी पर्दा एउटै छाता ओढेको, आफू भिजेर साथीलाई ओताएको, आफू नखाई नखाई साथीलाई खुवाएको, आफूले नलगाई साथीलाई लगाउन दिएको, हजारौँ पीडा सहेर पनि बाहिर नल्याएका घटना क्रमहरु मेरा आँखा अगाडी ताजै छन् । तपाईंको बुवालाई आतङ्कारीको बावु भन्दै पिट्दा पिट्दै मारेको, तपाईंकी आमाका अगाडी तपाईंकी बहिनीको बलात्कार गरेको सबै–सबै सह्यौँ हामीले । किनकी यो सबैका बावजुत ‘मुक्ति मिल्छ’ भन्ने हाम्रो आशा थियो । तपाईंको घर जलाएको, गोठको बाख्रो मारिएको पनि सह्यौँ । तपाईंलाई करेन्ट लगाउँदै दिएको यातना, पिनले घोचेको, बाँसले पेलेको, रडले, बुटले डण्ठाले, बन्दकको कुञ्जोले, टायर, पाइपले कुटेको पनि सह्यौँ । किनकी त्यसको बावजुत हाम्रो मुक्ति नजिक थियो । हाम्रा छिमेकी र दाजुभाइहरुले तिमीहरुको गणतन्त्रको यात्रा भनेको गोरुगाढा चढेर समुन्द्र पार गर्नु हो भनेको पनि सह्यौँ । किनकी उनीहरुको चरित्र नै त्यहि थियो, चाहना नै त्यहि थियो ।

मेरो मित्र,

तिमी भाग्यमानी रहेछौ । तिमी र मैले देखेको मुक्तिको सपना तिम्रो नजरमा साकार भयो । आज देश मुक्त छ । तिम्रा रगतका टाटाहरु अझै सुकेका छैनन् तर ती जान्दैनन् हाम्रो बलिदानबाट प्राप्त गणतन्त्रमा कति धेरै गणतन्त्रविरोधी फटाहाहरुले राज गरिसके । गणतन्त्रको धज्जी कसरी उडाइसके अथवा कुनै पनि मान्यतामा गणतन्त्रको नाम सुन्न नमान्नेहरु आज गणतन्त्रका ठेकेदार छन् । मन त त्यतिबेला अत्यधिक दुख्ने रहेछ मित्र, जतिबेला आफ्नैले पीडा दिन्छन् । मैले त सोचेको पनि थिइन हाम्रो नेतृत्व यसरी स्खलित हुन्छ, यत्ति धेरै भ्रष्ट हुन्छ अनि आफ्नै शहीद परिवार, वेपत्ता परिवार, घाइते, अपाङ्ग, यातना पाएका, जेल–नेल भोगका प्रति यति साह्रो अनुदार रहन्छ । आज तिमी बाँचेका भए यो सबैबाट घिनाएर आत्महत्या गर्ने थियो । माफ गर मित्र मैले आत्महत्या गर्न सकिन । तर पलपल सपनालाई खरानी बनाएर बाँच्दा खोई कसरी बाँचेको छु होला ?

प्रिय शहीद कमरेड,

अझ धेरै पीडा त त्यतिबेला थपिने रहेछ जब आफ्ना आमा, दिदी–बहिनी, छोरीहरुको बलात्कार गर्नेलाई धर्मात्मा भन्दै पूजा गर्नुपर्छ । तपाईं हाम्रो बलिदानबाट प्राप्त गणतन्त्रलाई, गणतन्त्रविरोधीको हातमा सुम्पनुपर्छ अनि तपाई हाम्रो रगतसँग साटिएको पार्टीलाई हाम्रै मृत्युको कामना गर्नेहरुसँग, हामीलाई र हाम्रो आस्थाको धरोहरलाई सुम्पनुपर्छ । हामी भौतिकवादीहरु इश्वरप्रति विश्वस्त छैनौँ, तर मेरो मित्र यति इश्वर हुन्छन् भने म जवरजस्ती प्रार्थना गर्छु हाम्रो मुक्तिको सपना विथोल्नेहरु, यो देशको सर्वाङ्गिण विकास गर्ने हाम्रो चाहनाका बाधकहरु सबैको भष्म होस् ।

प्रिय मित्र,

यदि मुक्तिको सपना साकार हुन्छ भने हामी एक पटक बलिदान गर्न तयार छौँ, तर यो कहिल्यै मुक्त नहुने मुक्ति आन्दोलनबाट अब मुक्त हुन जरुरी छ । हाम्रो सपना साकार पार्न हुने भए तिमी भुत बनेर हमला गर, म बोक्सो बनेर जाइलाग्छु । मेरो प्यारो कमरेड आज मुक्तिको हाम्रो सपनामा होली खेल्नेहरुको निर्देशनमा देश चलेको र आफू पनि चल्नु परेको पीडाबोधले बस्कन छाती पोलेको छ, तर म सँग अरु केही विकल्प छैन् खरानी भएका सपनाहरुको थुप्रोमाथि बसेर रुनु बाहेक ।

अन्त्यमा सपनाहरु जलेपनि आशा बाँकी छ । होली खेल्नेहरु एक दिन आफ्नै रङ्गमा फर्कने छन् र हाम्री आमाले मुक्ति पाउनेछिन् भन्ने आशाका साथ विदा माग्नुअघि तिम्री आमा, श्रीमती, बहिनी र छोरीका बलात्कारीहरुलाई, तिम्रा सपनाका हत्याराहरुलाई शासक मान्नु परेकामा, मानेर बसेकामा माफी माग्छु ।

मलाई थाहा छ, तिमी बेस्कन रोएका छौ, चिच्याएक छौ र मुक्ति युद्धका हत्याराप्रति घृणा जगाएकाछौ । गणतन्त्रका मुख्य–मुख्य विरोधीहरु शासक भएको र सडकमा तिलमिलाएको देख्दा आक्रोशित भएका छौ । तर प्यारो मित्र आज अथवा मंसिर २४ गते आजभन्दा ठिक २० वर्ष अगाडि मेरो मृत्युको घोषणा गर्नेहरु, गणतन्त्रको नाम सुन्न नमान्नेहरु नै आज हाम्रो बलिदानबाट प्राप्त गणतन्त्रमा हामीलाई नै गाण्तन्त्र सिकाउँदै शासक छन् । माफ गर मित्र तिमी मरेर मुक्ति पायौ, हामी बाँचेर दासत्व पायौँ ।

हार्दिक अभिवादन सहित !
तिम्रो युद्ध मित्र कोर्काली ।

प्रतिक्रिया दिनुहोस्