२१ दिनपछि भीरको ओढारमा भेटियो अढाई वर्षे बालकको शव



पाँचथर, २३ मङ्सिर

पाँचथरको हिलिहाङ गाउँपालिकाका एक अढाई वर्षीय बालक हराएको २१ दिनपछि जङ्गल भित्र ओढारमा शव फेला परेको छ ।

हिलिहाङ–६ भारपाको टङ्नुपाका आइन्द्र हाङसरुम्बाका छोरा प्रिजन हराएको २१ दिनपछि यहाँको कात्तिके खैरेनी भन्ने स्थानमा जङ्गलभित्र पहराको वीचमा रहेको ओढारमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार निकै अप्ठ्यारो ठाउँमा बालकको शव फेला परेको हो ।

शव सडेको अवस्थामा फेला परेको र आफन्तले मृतक बालकले लगाएको कपडाका आधारमा उनको पहिचान गरेको विश्वकर्माले वताउनुभयो । घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको उहाँको भनाई छ । शव भने आइतवार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।

मृतक बालकका आफन्त समेत रहेका स्थानीय शिक्षक मानबहादुर हाङसरुम्बाका अनुसार कात्तिक ३० गते विहान अन्दाजी ८ बजे मृतक बालक उनकै उमेरका अन्य चार जना बालबालिका सहित खेल्न निस्केका थिए । उनीसँगै खेल्न गएका बालबालिकाले सुनाएअनुसार घरबाट अन्दाजी ५०० मिटर तल खेल्ने क्रममा उनी अचानक हराएका थिए ।

हाङसरुम्बाका अनुसार अन्य बालबालिकाले मृतकका आफन्तलाई विहान १० बजे प्रिजन हराएको खवर गरेका थिए । त्यसपछि स्थानीयवासीले पाँच दिनसम्म उनको खोजी गरेका थिए । “दैनिक १०० देखि १५० जना मानिस भेला भएर नजिकैका सबै ठाउँ खोज्यौँ”, हाङरुम्बाले भन्नुभयो, “अहिले बालकको शव भेटिएको ठाउँ भने अत्यन्तै अप्ठ्यारो भएकाले पुग्न सकेका थिएनौँ ।”

लामो समयसम्म बालकको अवस्था पत्ता नलागेपछि गत आइतवार पुनः स्थानीयवासी खोजी गर्दै हिँडेका थिए । यस क्रममा हेंवा खोलाको कात्तिके दोभानमा मृतक बालकले लगाएर हिँडेको एउटा चप्पल फेला परेको थियो ।

स्थानीयवासी रमेश भण्डारीले भन्नुभयो, “चप्पल भेटिएपछि आसपासको क्षेत्रमा खोज्यौँ । कहीँ केही भेटिएन् । सीधा माथि पहरा भित्र ओढार देखिएपछि लहराको साहराले त्यहाँ पुग्दा बालकको लास भेटियो ।” अढाई बर्षे बालक अक्करे भीरमा पुग्न सक्ने कुनै सम्भावना नरहेकाले बालकको हत्या भएको स्थानीयवासी वताउँछन् ।

“बालक आफैँ त्यहा पुग्न सक्ने कुनै सम्भावना छैन् । त्यसैले यो घटनालाई हामीले शङ्कास्पद र नियोजित ठानेका छौँ”, हाङसरुम्बाले भन्नुभयो । स्थानीयवासीले परिवारका सदस्यलाई घटनाबारे कुनै आशङ्का भए प्रहरीमा खवर गर्न भनेका छन् । उनीहरुले बालकको हत्या भएकाले गहिरो अनुसन्धान गर्न प्रहरीसमक्ष माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्