मुलुक विकासको नयाँ चरणमा पुग्योः मन्त्री नेम्वाङ



काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले मुलुकलाई विकास नयाँ चरणमा पुर्याएको वताउनुभएको छ ।

मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले काठमाण्डौ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवान बुद्धको हजार मुर्ति स्तुपा नहटाइने बताउनुभएको छ । उहाँले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवान बुद्धको हजार मुर्ति स्तुपा जोगाउँनु पर्छ भन्ने बुझाई प्रष्ट भएको बताउनुभयो ।

मन्त्री नेम्वाङले भन्नुभयो “हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मुर्तिको स्तुपा जोगाउँनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने छ ।”

मन्त्री नेम्वाङले सरकार विभिन्न समुदायको संस्कृती संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताउनुभयो । उहाँले मुलुकको विविध संस्कृति सामाजिक सम्पत्ति रहेको समेत उल्लेख गर्नुभयो ।

नेम्वाङले भन्नुभयो “यो सरकार नयाँ संविधानद्धारा निर्देशित छ । नयाँ मुलुक निर्माणमा अगाडी बढेको सरकार स्वभावैले मुलुकका चौतर्फी विकास गर्न चाहन्छ । अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, संस्कृतिको रक्षा मात्र होइन, यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।”

मन्त्री नेम्वाङले स्वयम्भू क्षेत्र जस्तो विश्वसम्पदा सूचीमा रहेका क्षेत्रहरुको संरक्षण मात्र होइन अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताउनुभयो । उहाँले सडक विस्तार गरिदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताउनुभयो ।

समुदायको भावना र संवदेनशिलतासँग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासँग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले बुद्धमार्गीहरु, बुद्ध धर्मलम्वीहरु स्वभावैले सिर्जनशल, सकारात्मक र शान्तिपूर्ण चरित्र र मनसायको हुने भन्दै प्रशंसा गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्वयम्भु जस्ता सम्पदाहरु सरकारले नै विश्वसम्पदा सूचिमा सूचीकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताउनुभयो । त्यस्तै स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले समेत धारणा राख्नु भएको थियो । काठमाडौँको चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोविखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्