

गोली हानी हत्या गरिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ ।
फिदिम । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका मदन श्रेष्ठको घरमा सानो किराना पसल छ । उनको पसल नजिकै स्थानीय शिक्षक राजेन्द्र श्रेष्ठको घर छ । मंगलबार बिहान राजेन्द्र मदनको पसलमा रिचार्ज किन्न आए । राजेन्द्रलाई एकसय रुपैयाँको रिचार्ज दिएर मदन गाईबस्तु निकाल्न गोठतर्फ लागे ।
गाईबस्तुलाई गोठबाट सारी नसक्दै ६ जनाको समूहले राजेन्द्रलाई लिएर गएको खबर सुने । “म बस्तु सार्दै थिएँ । ६ जनाको समूहले उनलाई लिएर गयो भन्ने खबर आयो”, उनले भने, “गाउँलेहरु भेला भएर खोज्न गयौं ।” करिब साढे ६ बजेको समयमा काम छ भन्दै राजेन्द्रलाई अज्ञात समूहले घरबाट लिएर गएको थियो ।
त्यसपछि मदनसहितका ४÷५ जना गाउँले भेला भएर उनको खोजी गर्न जंगलतर्फ लागे । घरदेखि करिब पाँचसय मिटर पश्चिमतर्फ जंगलमा विभत्स अवस्थामा उनको शव भेटियो । “नचिनेका मान्छेले लिएर गएपछि हामी फर्काउन पर्छ भन्दै खोज्न गएका थियौं”, उनले भने “जंगलमा भुइँमा लडेको अवस्थामा उनलाई भेट्यौं, हेर्दा सबै रगताम्य थियो ।”
गाउँले पुग्दा उनको हत्या गरी उनीहरु फरार भइसकेका थिए । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी पनि हुन् । “गाउँमा केही पर्दा उहाँ सहयोग गर्न सधैं अगाडि हुनुहुन्थ्यो” मदन भन्छन्, “हामीले अभिभावक गुमायौं ।” उनले अज्ञात समूहका मान्छे को थिए भन्ने नजानेको बताए ।
शव भेटेपछि शोकाकुल भएका गाउँले प्रहरीको पर्खाइमा बसेका छन् । बिकट क्षेत्र भएकाले प्रहरी आउन समय लाग्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी टोली बाटोमा रहेको बताउँदै प्रहरी पुगेपछि थप विषय खुल्ने बताए । मिक्लाजुङमा विप्लव समूहको गतिविधि बाक्लो छ ।
आफ्नो समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । “विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ” प्रहरी उच्च स्रोतले भन्यो । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।
मक्लाजुङ गाउँपालिका– १ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए । शिक्षकलाई घरबाट लिएर गएको केही समयपछि हत्या गरेको खबर आएको उनले बताए ।
उनका अनुसार शिक्षक श्रेष्ठ गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका छन् । “उहाँको घर अलिक माथि नै पर्छ” अध्यक्ष राईले भने, “घरदेखि केही पर जंगलमा हत्या भएको छ ।”
उनका अनुसार शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो ।
पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए ।
स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए । इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो ।
प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको प्रहरीले जनाएको छ ।
गत मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए । उनको साथबाट पेस्तोल र विप्लव समूहका कार्यकर्ताका लागि खरिद गरेको ज्याकेट बरामद गरेको थियो ।
(अनलाइनखवर डटकमबाट)