‘विकास भनेको के हो ? त्यसपछि थाहा हुन्छ …’



पाँचथर, १९ मङ्सिर

कान्लामा टाँकी, कुटमेरो, काभ्रो जस्ता डालेघाँसका रुख र आसपासको क्षेत्रमा बाँसको झाँङले घेरेको जमिनमा भर्खर कोदोको नरुवा काटिँदैछ । मध्य हिउँदोमा सीत नओभाउने जस्तो लाग्ने यो ठाउँमा स–साना पाटा बारी र बारीमाथि लस्करै केही घरहरु छन् । यो जग्गा गत साता नै स्थानीयले गाउँपालिकाका नाममा पास गरिदिएका छन् । यसरी जमिन दिँदा कसैको घु¥यान गएको छ त कसैको रछ्यान ।

गत सोमवार दिउँसो यहि ओसिलो बारीमा प्रदेश नं. १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे सहित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवाहरु लगायत पुगे । कर्मचारी तथा सुरक्षाकर्मीहरु एउटा ब्यानर टाँगे । पूजाआजाको तयारी गरियो र जमिन खनेर पूजा अर्चना गरियो । तीन वटा ढुङ्गा राखियो र घोषणा गरियो – अब यहाँ १५ शैय्याको अस्पताल बन्नेछ ।

यो दृश्य हो, पाँचथरको याङवरक गाउँपालिका वडा नं. ४ सुब्बाडाँडाको । गाउँपालिकाको केन्द्र रहेको थर्पू बजारबाट झण्डै दुई किलोमिटर भित्र यहाँ हिँजो भेला भएका सबैले जोड दिँदै भने – समयमा अस्पताल भवन निर्माण सम्पन्न होस् ।

अस्पताल नभएका स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार याङवरक गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माण गर्ने अवसर पाएकाले यहाँ सोमवार शिलान्यास कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा करीब ३५ जना स्थानीयवासी वरिपरी बसेर हेरिरहेका थिए । जसमध्ये धेरैको मनमा आशङ्का थियो – कि झण्डै दुई वर्षमा यस्तो ठाउँमा अस्पताल बन्ला के … ।

यही बुझेर प्रदेशसभाका सदस्य थेबेले अस्पताल निर्धारित समयमै निर्माण सम्पन्न भई सेवा सुचारु हुने आश्वासन दिलाउनुभयो । “अहिले हेर्दा यो क्षेत्र नरुवाघारी, चिलाउनेबारी जस्तो मात्रै देखिन्छ”, थेबेले भन्नुभयो, “अबको दुई वर्षपछि यहाँहरुले देख्न पाउनु हुनेछ कि विकास भनेको यो हो, परिवर्तन भनेको यो र हामीले चाहेको पनि यो हो भनेर ।”

थेबेले स्वास्थ्य, शिक्षा र रोजगारीको जिम्मा लिने सरकारी नीतिअनुशार स्थानीय तहमा अस्पताल निर्माणको प्रकृया सुरु भएको वताउनुभयो । उहाँले स्थानीय तहमा निर्माण हुने आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्राप्त गर्नसक्ने स्थिति सबै पक्ष लागेर निर्माण गर्नुपर्ने वताउनुभयो ।

अस्पतालको सोमवार शिलान्यास भएपनि निर्माण कार्य सुरु हुन अझै केही महिना लाग्छ । याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यका अनुशार रु. १८ करोड कूल लागतको अस्पतालका लागि चालु आ.व.मा रु. एक करोड बजेट प्राप्त भएको छ । तर स्वास्थ्य मन्त्रालयले अस्पताल भवनको नक्सा पठाएको छैन् ।

नक्सा आएपछि त्यसका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण हुन्छ र माटो परीक्षण गरिन्छ । डीपीआर मन्त्रालयबाट स्वीकृत भएपछि भवन निर्माणका लागि बोलपत्र आह्वान हुन्छ । “प्रकृया नियमित रुपमा अघि बढ्यो भने बैशाकसम्ममा भवन निर्माण सुरु हुन्छ”, आचार्यले भन्नुभयो, “यस वर्षको बजेट पेश्की वा मोविलाइजेसन स्वरुप निर्माण कम्पनीलाई दिइनुपर्ने हुनसक्छ ।”

एकजना जग्गादाता समेत रहेका स्थानीयवासी नरबहादुर कटवाल अस्पताल निर्माण हुने भएपछि आफूहरु जग्गा दिन तयार भएको र अस्पतालले पहाडी क्षेत्रमा मानिस टिकाइराख्न सहयोग गर्ने वताउनुहुन्छ । “शिक्षा र स्वास्थ्यको कमजोर अवस्थाले नै बसाईँसराई बढिरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले भनेजस्तै समयमै निर्माण सम्पन्न होस् ।

सहयोग गर्न हामी दिलोज्यान दिएर लाग्छौँ ।” अर्का स्थानीय जगतबहादुर कटवाल चिकित्सक भेट्न झापा, विराटनगर र काठमाण्डौँ पुग्नुपर्ने बाध्यता अन्त्य हुनेमा आशावादी हुनुहुन्छ । “हामी गाउँलेहरु अस्पताल निर्माण हुने कुराले खुशी छौँ”, कटवालले भन्नुभयो, “हामीले काटेर दिएको रछ्यान नबँझियोस्, समयमै अस्पताल बनेर सेवा पाइयोस् ।”

अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णयअघि नै याङवरक गाउँपालिकाले प्रदेश र संघीय सरकारमा पहल गर्दै आएको स्मरण गर्दै गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले निर्माण कार्यमा बजेटको सुनिश्चितता हुनुपर्ने वताउनुभयो । यहाँ निर्माण हुने अस्पतालबाट ताप्लेजुङका विभिन्न गाउँका स्थानीयले समेत लाभ लिन सक्ने स्थानीयवासीको भनाई छ । पाँचथरमा हिँजो छ वटा गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको छ ।

जिल्लाको याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा अस्पताल निर्माणको शिलान्यास गरिएको हो । याङवरकको थर्पूको सुब्बाडाँडा, हिलिहाङको गोपेटार, फाल्गुनन्दको घुर्विसेपञ्चमी, कुम्मायकको यासोक, तुम्बेवाको मौवा र मिक्लाजुङको रबिमा अस्पताल भवनको शिलान्यास गरिएको हो । जसमध्ये याङवरक, हिलिहाङ, कुम्मायक र मिक्लाजुङमा १५–१५ शैय्या तथा बाँकी स्थानीय तहमा ५–५ शैयाको अस्पताल निर्माण हुन लागेको हो ।

फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गर्नुभयो । याङवरकमा प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति थेबे, हिलिहाङमा प्रदेशसभा सदस्य आशारत्न जबेगू, कुम्मायक संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ तथा तुम्बेवामा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । फाल्गुनन्दमा भने ब्याडमिन्टन कवर्डहल समेतको शिलान्यास गरिएको छ ।

सदरमुकाम रहेको फिदिम नगरपालिकामा जिल्ला अस्पताल सहित दुई निजी अस्पतालहरु छन् । अस्पताल नरहेका स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार ती स्थानीय तहहरुमा अस्पताल शिलान्यासको कार्यक्रम राखिएपनि जिल्लाको फालेलुङमा भने अस्पताल शिलान्यास भएन । यसअघि १५ शैय्याको अस्पताल निर्माण हुने चर्चा भएपनि दुर्गम मानिएको फालेलुङमा आधारभूत अस्पताललाई ५ शैय्यामा खुम्च्याइएको भन्दै अस्पताल शिलान्यास नभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्