तालखर्कलाई पर्यटकीय गन्तब्य बनाउने प्रयास



पाँचथर, २० मङ्सिर

फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षितिज देखिने थुम्का–थुम्का पहाडहरुतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्क अर्थात ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो त्यत्ति रमाइलो हुने पहाडी विशेषतामा रम्दै पुगिन्छ गुरुङ गाउँ । गुरुङ गाउँ पुगेपछि भने रमाइलोमा अझ रमाइलो र मौलिक विशेषताहरु थपिन्छन् ।

अग्ला थुम्का–थुम्का डाँडाहरुको काखमा, वरिपरी जङ्गल र चौरहरुको वीचमा रहेका करीब डेढ दर्जन घरहरुको वस्ती हो तालखर्क । यहाँ गुरुङ समुदायको मात्रै बसोबास रहेको हुनाले यसलाई गुरुङ गाउँ पनि भनिएको हो । एकै समुदायको बसोबास भएकै कारण यहाँका बासिन्दाका आफ्नै मौलिकता र विशेषताहरु छन् । आफैंमा पृथक पहिचान बोकेको तालखर्कलाई पछिल्लो पटक पर्यटकीय गन्तब्य बनाउने प्रयास सुरु भएको छ ।

पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावनाहरु देखिएपछि तालखर्कका बासिन्दालाई घरबास (होमस्टे) सञ्चालन तथा पाक कलासम्बन्धी तालिम दिइएको छ । पर्यटक रमाउने यहाँका रमणीय क्षेत्र तथा वस्तुहरु पर्यटकलाई चिनाउन स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालिम सञ्चालन गरिएको छ ।

जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय यहाँको दीप ज्योती युवा क्लबले यी तालिम सञ्चालन गरेको हो । तालिमका लागि रेडपाण्डा नेटवर्कको सहयोग र फालेलुङ गाउँपालिका वडा नं. ६ ले संयोजन रहेको थियो । तालखर्कलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालित पाँच दिने तालिममा जिल्लाको फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका स्थानीयवासीहरु समेत सहभागी थिए ।

तालखर्कमा पूर्ण अर्गानिक खाना खान पाइन्छ । “हामीले यीनै अर्गानिक खानाका परिकारहरु स्वादिष्ट बनाई पर्यटकको भोक मेटाउन, पर्यटकको स्वागत तथा सत्कार गर्न स्थानीयवासीलाई सक्षम र जागरुक गराएका हौँ”, दीप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले भन्नुभयो ।

लेकाली भेगमा मौसमअनुसार पाइने स्थानीय उत्पादन यहाँ पुग्ने पर्यटकहरुले धित मरुञ्जेल खान पाउनेछन् । “यहाँका स्थानीयवासीका मौलिक रहनसहन, परम्परा र संस्कारहरु छन् । यसले पर्यटकलाई झनै लोभ्याउने हाम्रो विश्वास हो”, बान्तवाले भन्नुभयो ।

तालखर्कको शीरमा यहाँका सबै जातिले समान आस्था र विश्वास राख्ने बुढीथाम धार्मिक पर्यटकीय क्षेत्र रहेको छ । यहाँसम्म सिंढी मार्ग विस्तार गरिएको छ भने भ्यू–टावर निर्माण भइरहेको छ । बुढीथाम क्षेत्र कञ्चनजंघा र कुम्भकर्ण हिमाल सामुन्नेमा हेर्न निकै आकर्षक गन्तब्य मानिन्छ ।

तालखर्कबाट झण्डै एक घण्टा यात्रा गरेपछि सदावहार बगिरहने मुवा झरना पुगिन्छ । यीनै विशेषतहरु रहेको तालखर्कलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने प्रशस्त आधारहरु रहेको ठान्नुहुन्छ यहाँका स्थानीयवासीलाई घरबास, पाककला तथा प्रकृति प्रदर्शनसम्बन्धी तालिम दिन चितवनबाट आइपुग्नु भएका रमेश चौधरी ।

“यहाँको आतिथ्यता र सत्कार नै सबैभन्दा उत्कृष्ट छ”, चौधरीले भन्नुभयो, “यस्तै यो स्थान चराहरुको अवलोकनका लागि पनि उत्कृष्ट रहेछ ।” तालखर्क सहितका यहाँका उच्च पहाडी क्षेत्रहरु रातोहाब्रे (रेडपाण्डा) समेत पाइने स्थान हो ।

“तालिमले तालखर्क पर्यटक भित्र्याउने उपयुक्त गन्तब्य बन्नसक्छ भन्ने देखिएको छ”, तालिमका प्रशिक्षक रमेश राईले भन्नुभयो, “स्थानीयवासी निकै जागरुकता देखिएको छ ।” यी स्थानका अतिरिक्त जिल्लाका अन्य स्थानहरुमा समेत भ्रमण गर्न चाहने पर्यकटकहरुका लागि लक्षित गरी तालखर्कभन्दा बाहिरका स्थानका स्थानीयवासीहरुलाई प्रकृति प्रदर्शक तालिम दिइएको छ ।

फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा मौलिकताले भरिएको तालखर्कलाई पर्यटकीय गन्तब्य बनाउन घरबासलाई ब्यवस्थित गर्नुपर्ने औँल्याउनुहुन्छ । “घरबासलाई ब्यवस्थित गरी स्थानीय परिकार र मौलिकता सम्वद्र्धनमा हामी सबैको जोड हुनुपर्छ”, वडाध्यक्ष बान्तावले भन्नुभयो, “सरकारले गर्न नसकेको काम दीप ज्योती युवा क्लबले गरेको छ ।

अब सरकारी सहयोग अवश्य प्राप्त हुनेछ ।” पर्यटकीय गन्तब्य निर्माणका लागि देखिएको सपना पूरा गर्न केही वर्ष लाग्ने भन्दै उहाँले अब उक्त स्थानमा गुरुङ समुदायको पहिचानसँग जोडिएको भेडा पालनका लागि गाउँपालिकाबाट सहयोग जुटाउने वताउनुभयो ।

स्थानीयवासीका लागि आयोजित तालिमको समापनका लागि तालखर्क पुग्नुभएकी प्रदेश १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले पर्यटन विकास र सो मार्फत स्थानीयवासीको आयआर्जन वृद्धिका लागि ग्रामीण पर्यटन प्रवद्र्धन अनिवार्य रहेको वताउनुभयो ।

“हेंला गरिएका स्थानीय उत्पादनबाट बाहिरका मान्छेलाई आकर्षण गर्ने र स्थानीयवासीले आयआर्जन अभिवृद्धि गर्ने होमस्टेको विकास ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य माध्यम बन्नसक्छ”, सभापति थेबेले भन्नुभयो, “यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ ।”

कोभिड–१९ को महामारीसँग जुध्ने क्रममा पनि तीनै तहका सरकारले पर्यटन विकासका कामलाई प्राथमिकतामै राखेको वताउँदै सभापति थेबेले अब पर्यटन क्षेत्रलाई खुल्ला गरी पूर्वाधार र प्रचार–प्रसारमा जोड दिइनुपर्ने वताउनुभयो ।

तालखर्कमा पर्यटन प्रवद्र्धनका लागि तालिमका अतिरिक्त दीप ज्योती युवा क्लबले सबै स्थानीयवासीलाई आधुनिक चुलो समेत वितरण गरेको छ । करीब रु. ५५ हजार मूल्य पर्ने चुलो रु. ५००० ढुवानी खर्चमा स्थानीयवासीले प्राप्त गरेका छन् ।

क्लबले सबै घरहरुमा घरबास सञ्चालनका लागि घरबास दर्ता र ब्यवस्थापनमा समेत सहयोग गर्ने क्लबका कार्यकारी निर्देशक बान्तवाले जानकारी दिनुभयो । घरबास सञ्चालन, पाककला र प्रकृति प्रदर्शक तालिमले सानो गाउँको मुहार फेर्न र प्रशस्त आम्दानी लिनसक्ने बनाउन सहयोग पुगेको यहाँका स्थानीयवासी समेत रहनुभएका फालेलुङ–६ का वडा सदस्य कमल गुरुङले वताउनुभयो ।

दुर्गम नै भएपनि अब तालखर्क पुग्न त्यति कठीन छैन् । फिदिम–फालोट सडकले फालेलुङ–६ बरभञ्ज्याङसम्म जोडेको छ । यो सडक यसै आर्थिक वर्षमा कालोपत्रे पूरा हुने चरणमा छ । सोभन्दा माथिको क्षेत्रमा समेत गाउँपालिकाले रु. २० लाख बजेट छुट्टयाई सडक मर्मत गरेको वडाध्यक्ष बान्तवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्