ट्याम्पो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते



पाँचथर, २० मङ्सिर

पाँचथरको फिदिममा ट्याम्पो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

फिदिम नगरपालिका–४ गढीतर्फ गइरहेको प्रदेश १–०२–००२ ह ८६४० नम्बरको ट्याम्पो अनियन्त्रित भई आज साँझ ५ बजे सडकबाट करीब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याम्पो चालक सुनसरीको धरानका ३० वर्षीय शुक्र राई र फिदिम–४ का १० वर्षीया बालिका समीक्षा तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुवैलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ट्याम्पोमा बालबालिका सहित जम्मा नौ जना सवार थिए । जसमध्ये ४, ५, ७ र १३ वर्षका बालबालिका, एक १९ वर्षीया किशोरी, ५३ र ६१ वर्षीया दुई महिला सामान्य घाइते भएका छन् । उनीहरुको फिदिम स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण ट्याम्पो अनियन्त्रित भई दुर्घटना भएको स्थानीयवासीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्