सीमा क्षेत्रमा पर्यटकको चाप, तर नेपालले लिन सकेन फाइदा



पाँचथर, १५ मङ्सिर

सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्र पर्यटकको चाप बढेपनि नेपालले भने कुनै लाभ लिन सकेको छैन ।

पाँचथरमा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र फालोटमा पर्यटकको चाप बढ्दै गएको छ । भारतले आफ्नोतर्फ सीमा क्षेत्रमै सवारी सञ्चालन हुनसक्ने सडक निर्माण गरेको छ भने नेपालले विभिन्न क्षेत्रबाट सीमासम्म सडक पु¥याएको छ । सडकको पहुँचका कारण फालोट क्षेत्रमा दैनिक सयौँ पर्यटक पुग्न थालेका छन । पर्यटकहरुको उल्लेख्य चाप भएपनि आम्दानी लिनसक्ने कुनै संरचना नहुँदा नेपालले कुनै फाइदा लिन सकेको छैन । यसको सोझो फाइदा भारतीय पक्षले उठाइरहेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा फालोट, चारराते, भैंसे, गोर्खेपानी, तीनसीमाना, तोरीफूले, चिवाभञ्ज्याङ लगायत महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु रहेका छन् ।

फालेलुङ–४ का श्याम थाम्सुहाङका अनुसार यहाँ दैनिक सयौँ आन्तरिक पर्यटकहरु सीमा क्षेत्रमा पुग्छन । भारतबाट भारतका विभिन्न स्थानका पर्यटकहरु सहित भुटान र बङ्गलादेशका पर्यटकहरु समेत सीमा क्षेत्रमा आउँछन् । २५०० मिटरदेखि ३६०० मिटरको उचाईमा रहेको फालोट क्षेत्र रमोरञ्जनका दृष्टिले निकै आकर्षक रहेकाले पर्यटकको उल्लेख्य उपस्थिति हुन थालेको हो । “नेपालतर्फ बाटो ब्यवस्थित नहुँदा समेत पर्यटक आइरहेका छन । कुनै पूर्वाधार नेपालले कुनै फाइदा लिन सकेको छैन”, थाम्सुहाङले भन्नुभयो, “पर्यटकहरुबाट नेपालले ठूलो लाभ आम्दानी लिनसक्ने सम्भावना छ ।”

हिमाल हेर्ने र रमाइलो गर्ने ठाउँहरु नेपालमा रहेपनि भारतर्फबाट सहज सडक पहुँच हुनाले उतै बढी पर्यटक हुने र भारतले नै राजश्व सङ्कलन गर्ने अवस्था रहेको थाम्सुहाङको भनाई छ । फालेलुङ–४ का अमृतबहादुर राईका अनुशार नेपालीहरु तथा नेपाल हुँदै यात्रा गर्ने विदेशी पर्यटकहरुलाई पैदल यात्रा गरेर भारततर्फ जान कुनै वन्देज छैन । पर्यटकहरुले आधारभूत सुविधाहरु समेत भारतबाटै पाउने भएपछि उसले पैदल यात्रालाई सहज बनाउदै आम्दानी बढाउने नीति लिएको राईको ठम्याई छ । स्थानीयवासीहरु पर्यटकबाट लाभ लिन सीमा क्षेत्रसम्म ब्यवस्थित सडक निर्माण गर्नुपर्ने, भ्यू–पोइन्ट तथा हिलस्टेशन लगायत संरचना बनाइनुपर्ने माग गर्छन् ।

फालोट क्षेत्रबाट नेपाल, सिक्किम (भारत) र भुटानका हिमाल हेर्न सकिने भएकाले यहाँ पर्यटकको चाप बढेको यस क्षेत्रको पर्यटन विकासमा सक्रिय चन्द्रलाल नेपाल वताउनुहुन्छ । यहाँबाट सर्वोच्च शिखर सगरमाथादेखि सिक्किमको लाचेलाचेन तथा भुटानका हिमाल समेत देख्न सकिन्छ । यो स्थान दक्षिण एसियाकै सबैभन्दा हिमाल देख्न सकिने स्थानको रुपमा समेत परिचित छ । यहाँबाट सूर्योदय, सूर्यास्त र पहाडी भू–भागहरु, चौरीपालन, भेडापालन, जडिबुटी लगायत पाइने हुँदा पर्यटकको चाप बढेको नेपालको भनाई छ । तर यति महत्वपूर्ण स्थान भएपनि नेपालले लाभ लिनसक्ने अवस्था नहुनु दुःखद् पक्ष रहेको उहाँको ठम्याई छ । “भारतपट्टि पूर्वाधार हुँदा उसैले सबै फाइदा लिइरहेको अवस्था छ । लकडाउनपछि त आसपासका क्षेत्रका पर्यटकको चाप ह्वात्तै बढेको छ”, नेपालले भन्नुभयो ।

यद्यपी नेपाल तर्फबाट समेत फाइदा लिनका लागि गोठस्टे निर्माणको प्रयास सुरुआत भएको छ । चारराते, गोर्खेपानी, तीनसीमाना लगायत क्षेत्रमा गोठस्टे निर्माण गर्ने र पर्यटकहरुलाई आधारभूत सेवा दिई लाभ लिने उद्देश्यसहित तीनै तहका सरकारको लगानीमा गोठस्टे निर्माण थालिएको कञ्चनजंघा फालेलुङ पर्यापर्यटन विकास केन्द्रका सचिव समेत रहनुभएका नेपालले वताउनुभयो । हालसम्म नेपालतर्फ कुनैपनि होटल, लज छैनन् । भारतले ठाउँ–ठाउँमा घरबास (होमस्टे) निर्माण गरेको छ । पर्यटकहरुले यीनै घरबासबाट सेवा पाइरहेका छन् ।

धेरै सीमा क्षेत्र पर्ने फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुशार नेपालले स्थानीय तह निर्माणपछि सीमासम्म सडक पु¥याएको हो । त्यसअघि वस्तीसम्म मात्रै सडक थियो । तीनै तहका सरकारको लगानीमा करीब १५ किलोमिटर सडकको ट्रयाक खोलिएको हो । नेपाल तर्फ सशस्त्र प्रहरीका चार वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएसँगै भौतिक पूर्वाधार निर्माण अव सरकारको प्राथमिकतामा पर्ने अपेक्षा गरिएको वडाध्यक्ष सावदेनको भनाई छ । “पर्यटन प्रवद्र्धनका लागि सीमा क्षेत्र महत्वपूर्ण रहेपनि सुरक्षाको प्रत्याभूति नहुँदा प्रशस्तै पर्यटक आउन सकेका थिएनन्”, सावदेनले भन्नुभयो “भारततर्फ भन्दा नेपालतर्फ आकर्षक स्थानहरु रहेकाले नेपालतर्फ पर्यटकको चाप झनै बढ्ने अपेक्षा गरेका छौँ ।”

स्थानीय जनप्रतिनिधिहरुले तीनसीमाना, गोर्खेपानी र चारराते क्षेत्रलाई नाकाको रुपमा विकास गर्ने लक्ष्य लिएर सडक निर्माणमा लगानी जुटाएका थिए । तर भारततर्फ सिंहलिला राष्ट्रिय संरक्षण क्षेत्र रहेकाले सीमा क्षेत्रलाई नाकाको रुपमा विकास गर्न कठिन भएको वडाध्यक्ष सावदेनको भनाई छ । सडक बनेपछि सामान आयात–निर्यात भने सहज भएको उहाँले वताउनुभयो । फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङ बीओपी स्थापनासँगै पर्यटकीय पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारले अझैबढी ध्यान दिनेमा आशावादी हुनुहुन्छ । “बीओपीमा बस्ने सुरक्षाकर्मीलाई सुविधा पु¥याउन पनि सीमा क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी बढ्छ भन्ने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो ।

फालोटमा स्थापना भएको बीओपी उद्घाटन गर्न पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालले आम्दानी गर्नसक्ने गरी संरचना निर्माण हुने वताउनुभयो । यसका लागि संघीय सरकारले केचना–कञ्चनजंघा सडक निर्माणको अवधारणा अघि सारेको छ । सीमा क्षेत्रबाट दुई लेनको सडक निर्माणका लागि झापाको केचनकवलबाट सर्वेको काम सुरु भएको छ । फालोटमा पर्यटक पु¥याउन फिदिम–फालोट सडक, जोरपोखरी–मेमेङ फालोट र हेंवा कोरिडोर निर्माण थालिएको मन्त्री नेम्वाङको भनाई छ । केही वर्षमै कालोपत्रे बाटो पु¥याउने र भारतलाई पर्यटन विकासमा उछिन्ने लक्ष्य लिइएको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्