छ वटा गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास



पाँचथर, १६ मङ्सिर

पाँचथरमा छ वटा गाउँपालिकामा सोमवार आधारभूत अस्पतालको शिलान्यास गरिएको छ ।

जिल्लाको याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा अस्पताल निर्माणको शिलान्यास गरिएको हो । याङवरकको थर्पूको सुब्बाडाँडा, हिलिहाङको गोपेटार, फाल्गुनन्दको घुर्विसेपञ्चमी, कुम्मायकको यासोक, तुम्बेवाको मौवा र मिक्लाजुङको रबिमा अस्पताल भवनको शिलान्यास गरिएको हो । जसमध्ये याङवरक, हिलिहाङ, कुम्मायक र मिक्लाजुङमा १५–१५ शैय्या तथा बाँकी स्थानीय तहमा ५–५ शैयाको अस्पताल निर्माण हुन लागेको हो ।

फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गर्नुभयो । याङवरकमा प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबे, हिलिहाङमा प्रदेशसभा सदस्य आशारत्न जबेगू, कुम्मायक संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ तथा तुम्बेवामा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । फाल्गुनन्दमा भने ब्याडमिन्टन कवर्डहल समेतको शिलान्यास गरिएको छ ।

सदरमुकाम रहेको फिदिम नगरपालिकामा जिल्ला अस्पताल सहित दुई निजी अस्पतालहरु छन् । अस्पताल नरहेका स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार ती स्थानीय तहहरुमा अस्पताल शिलान्यासको कार्यक्रम राखिएपनि जिल्लाको फालेलुङमा भने अस्पताल शिलान्यास भएन । यसअघि १५ शैय्याको अस्पताल निर्माण हुने चर्चा भएपनि दुर्गम मानिएको फालेलुङमा आधारभूत अस्पताललाई ५ शैय्यामा खुम्च्याइएको भन्दै अस्पताल शिलान्यास नभएको बुझिएको छ । यद्यपि यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन् ।

मिक्लाजुङ गाउँपालिकाको रबिमा अस्पताल भवनको शिलान्यास गर्दै मन्त्री आङ्बोले स्थानीय तहहरुको रुप बदल्ने काम सरकारहरुले गरिरहेको वताउनुभयो । उहाँले मिक्लाजुङमा ठु–ठूला पूर्वाधार निर्माण भई मुहार फेर्न थालेको वताउनुभयो । मेरुदण्डको रुपमा रहेको राँके–रबि–भेडेटार सडक चाँडो सम्पन्न गर्न तीनै तहका सरकार दृढ रहेको वताउनुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका आङ्बोले नेकपा विभाजनका लागि नबनेको वताउनुभयो ।

कुम्मायकको यासोकमा अस्पताल शिलान्यास गर्दै संविधानसभा सदस्य नेम्वाङले पोष्टमार्टम गर्न लाइन पर्खनुपर्ने, विशेषज्ञ चिकित्सक भेट्न झापा, विराटनगर, काठमाण्डौँ वा भारत पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वताउनुभयो । उहाँले अस्पतालले बसाईसराई सहितका समस्या समेत हल हुने विश्वास ब्यक्त गर्नुभयो । नेम्वाङले ठूला पूर्वाधारका आयोजनाहरु निर्माणलाई गति दिँदै लैजानुपर्ने वताउनुभयो ।

याङवरकमा अस्पताल भवनको शिलान्यास गर्दै प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले अस्पताल निर्माणले परिवर्तन के हो ? भन्ने स्पष्ट हुने वताउनुभयो । “अहिले नरुवाबारी, रुख र बाँस रहेको यो ठाउँमा दुई वर्षमा कसरी अस्पताल बन्ला भन्ने जिज्ञासा सबैमा छ”, थेबेले भन्नुभयो, “अस्पताल निर्माणपछि परिवर्तन के हो भन्ने थाहा हुन्छ ।” उहाँले कोभिड–१९ को महामारीले स्वास्थ्य सेवालाई स्थानीय स्तरमा सबल बनाउनुपर्छ भन्ने कुरा स्पष्ट भएकाले आधारभूत अस्पताल निर्माण समयमै सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले आधारभूत अस्पताल निर्माणको शिलान्यास गर्व गर्न लायक विषय भएको वताउँदै थर्पूमा रहने अस्पतालले छिमेकी जिल्ला र छिमेकी स्थानीय तहहरुलाई समेत फाइदा पुग्ने वताउनुभयो । याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले संघीय सरकारले अस्पताल नरहेका स्थानीय तहका आधारभूत अस्पताल निर्माण गर्ने निर्णयअघि नै गाउँपालिकाले अस्पताल निर्माणका लागि गरेको पहलहरुको स्मरण गर्नुभयो । उहाँले गाउँपालिका भौतिक पूर्वाधार निर्माणमा धेरै अघि बढेको वताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यका अनुशार अस्पताल निर्माणका लागि रु. एक करोड बजेट प्राप्त भएको छ । प्रकृयागत हिसाबले आगामी बैशाक वा जेठमा निर्माण कार्य सुरु हुनसक्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्