

पाँचथर, १३ मङ्सिर
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले स्थानीयवासीबाट ५६ रोपनी जमिन निःशुल्क प्राप्त गरेको छ ।
गाउँपालिका भित्र विभिन्न संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा गाउँपालिकाका जनप्रतिनिधिको आव्हानमा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका हुन । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ४५ रोपनी, अस्पताल निर्माणका लागि आठ रोपनी र कवर्डहल निर्माणका लागि तीन रोपनी गरी ५६ रोपनी जमिन प्राप्त भएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
प्रशासकीय भवन निर्माणका लागि फाल्गुनन्द–५ कोल्बुङ क्षेत्रमा गाउँपालिकालाई ४५ रोपनी जग्गा प्राप्त भएको छ । ३० जनाभन्दा बढी स्थानीयले एकामुष्ट रुपमा जमिन गाउँपालिकालाई उपलब्ध गराएका छन । डेढ महिना अघि नै उक्त जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन पास भइसकेको अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो ।
यहाँका स्थानीयले थप चार रोपनी जमिन समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको तयारी थालेको छ । डीपीआरका लागि रु. १० लाख बजेट छुट्टयाएको अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकामा निर्माण हुन लागेको पाँच शैय्याको अस्पतालका लागि फाल्गुनन्द–५ घुर्विसेपञ्चमी पात्लेसिरानमा ८ रोपनी जमिन गाउँपालिकाका नाममा रजिष्ट्रेसन पास भएको छ । स्थानीय दुर्गा चेम्जोङ लगायतले अस्पतालका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन ।
अस्पताल निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि रु. ७० लाख बजेट उपलब्ध गराएको छ । यही मङ्सिर १५ गते अस्पताल निर्माणको शिलान्यास गर्न लागिएको अध्यक्ष कुरुम्बाङले वताउनुभयो ।
यस्तै गाउँपालिकास्तरीय कवर्डहल निर्माणका लागि फाल्गुनन्द–५ घुर्विसेपञ्चमी जौबारीमा तीन रोपनी जमिन प्राप्त भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो । स्थानीयवासी अर्जुन चेम्जोङ लगायत जग्गादाताले आगामी साता जग्गा गाउँपालिकाका नाममा रजिष्ट्रेसन पास गरिदिन लागेको उहाँको भनाई छ ।
कवर्डहल निर्माणका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएको छ । रु. १ करोड ९९ लाख कूल लागतमा कवर्डहल निर्माणका लागि बोलपत्र आव्हान भइसकेको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि गत वर्ष मङ्सिर १४ गते उपनिर्वाचन हुनुपूर्व गाउँपालिकाका नाममा आफ्नै जमिन थिएन । उपनिर्वाचनबाट कुरुम्बाङ अध्यक्ष निर्वाचित भएपछि उहाँकै पहलमा जग्गा उपलब्ध गराउन गाउँपालिकावासीमा गरिएको अपील र आह्वानले सार्थकता पाएको फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिं नेम्वाङले वताउनुभयो । जग्गा प्राप्तिपछि पूर्वाधार निर्माण कार्यले गति लिने वडाध्यक्ष नेम्वाङको विश्वास छ ।
गाउँपालिका अध्यक्ष कुरुम्बाङले अब अत्यावाश्यक तथा अन्य पूर्वाधार निर्माणले गति लिने वताउनुभयो । “म अध्यक्ष निर्वाचित भएपछि गाउँपालिकावासीले विश्वास गरेर आफूले खेतीपाती गर्दै आएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ”, अध्यक्ष कुरुम्बाङले भन्नुभयो, “गाउँपालिकावासीको विश्वास र जनमतअनुसार जग्गाहरुको सदुपयोग गर्दै गाउँपालिकालाई पूर्वाधारसम्पन्न बनाउने अभियान अगाडि बढाउने छु ।” उपनिर्वाचनको एक वर्ष नवित्दै गाउँपालिकाका संरचना निर्माणका आधार तयार भएपछि स्थानीयवासीले खुशी ब्यक्त गरेका छन ।