फिदिममा मेची राजमार्ग चौडा तथा शाखा सडक कालोपत्रे हुने



पाँचथर, १२ मङ्सिर

लामो समयदेखि समस्याग्रस्त फिदिम बजारमा मेची राजमार्गको चौडा तथा शाखा सडकहरु कालोपत्रे हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङका अनुशार मेची राजमार्ग फिदिम–१ स्थित समर्पित अस्पतालबाट १.७ किलोमिटर सडक विस्तार हुनेछ । फिदिम नगरपालिका सहित स्थानीय सरोकारवालाहरुसँगको छलफलबाट विस्तारित सडक १६ मिटर चौडा हुने तय भएको मन्त्री नेम्वाङले वताउनुभयो । फिदिम बजार क्षेत्रमा मेची राजमार्ग चौडा गर्नका लागि अर्थ मन्त्रालयबाट रु. १४ करोड लगानी स्वीकृत भइसकेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।

“बजेट सुनिश्चित भएकाले केही दिनमै सडक विस्तारका लागि बोलपत्र आव्हान हुन्छ”, उहाँले भन्नुभयो । सरकारले मेची राजमार्गको चारआली–फिदिम सडक खण्ड विस्तार गर्ने कार्यअन्तर्गत मुख्य बजारहरुमा सडक चौडा गर्न थालेको मन्त्री नेम्वाङले वताउनुभयो ।

फिदिम बजार क्षेत्रमा मेची राजमार्ग चौडा गर्ने विषय यसअघि पटक–पटक चर्चामा आएपनि काम सुरुआत हुन सकेको थिएन् । स्थानीयवासी तथा ब्यवसायीहरुका सडकको दायाँ–बायाँ १५–१५ मिटर चौडा गर्ने वा ७–७ मिटर चौडा गर्ने भन्ने फरक मत हुँदा विस्तार कार्यले गति लिन सकेको थिएन ।

यसअघि सडक भिडिजन कार्यालय इलामले सूचना जारी गर्दै सडकको दायाँ–बायाँ सडक क्षेत्राधिकार अन्तर्गत १५–१५ मिटर सडक चौडा गर्न सूचना समेत जारी गरेको थियो । डिभिजनले १६ मिटर चौडा सडक निर्माणका लागि मार्किङ गरिरहेको छ ।

यस्तै फिदिमको ठाडोलाइन सहित अन्य शाखा सडकहरुको कालोपत्रेको कार्य समेत द्रूत गतिमा अघि बढाइने भएको छ । ठाडोलाइनको कालोपत्रेका लागि निर्माण कार्य सुरुआत भइसकेको छ ।

अन्य शाखा सडकहरुको कालोपत्रेका लागि समेत बजेट सुनिश्चित गरी निर्माण कार्य तत्कालै अघि बढाउन आफू प्रयत्नरत रहेको मन्त्री नेम्वाङले आज फिदिममा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्