दुवै अध्यक्षका प्रतिवेदन तल्ला कमिटीमा छलफल भई निश्कर्षमा पुग्छः मन्त्री नेम्वाङ



पाँचथर, १२ मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवादमा दुवै अध्यक्षका प्रतिवेदन तल्ला कमिटीसम्म छलफल भई निश्कर्षमा पुग्ने वताउनुभएको छ ।

नेकपाको एकताका लागि दुवै अध्यक्षको अहम भूमिका रहेकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने मन्त्री नेम्वाङले वताउनुभयो । सचिवालयबाट प्रतिवेदनको टुङ्गो लाग्न नसके छलफलका लागि स्थायी कमिटीमा समेत छलफल हुनसक्ने र छलफलबाटै विवाद निश्कर्षमा पुग्ने मन्त्री नेम्वाङको भनाई छ ।

नेकपाका लागि एकता बाहेकको विकल्प नरहेकाले एकताको प्रकृया टुङ्ग्याएर स्थायी कमिटीको दिशानिर्देशअनुसार सरकार र पार्टी अघि बढ्ने मन्त्री नेम्वाङको भनाई छ । पाँचथरको फिदिममा आज प्रेस संगठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले आवश्यकताअनुसार पार्टीको राय लिई प्रधानमन्त्रीले सरकार सञ्चालन गर्ने कुरा स्पष्ट रहेको वताउनुभयो ।

“पार्टीले सरकारलाई दिशानिर्देश गर्ने र नीति निर्माण गर्ने मात्रै हो”, मन्त्री नेम्वाङले भन्नुभयो, “कार्यकारी अध्यक्षले अर्का अध्यक्षसँगको परामर्शमा सरकार सञ्चालन गर्ने स्थायी कमिटीको निर्णयअनुसार अघि बढ्न सबै तयार हुनुपर्छ ।”

मन्त्री नेम्वाङले एक जना अध्यक्षले लिखित प्रतिवेदन पेश गरेपछि अर्का अध्यक्षले पनि प्रतिवेदन पेश गर्ने र बहस हुने कुरालाई सामान्य रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । राजनीतिक स्थिरता र स्थिर सरकारले मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने नेकपा स्थायी कमिटीको मर्मअनुसार सबै अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

पछिल्लो दुई सातामा जिल्लामा ११ वटा कार्यक्रममा सहभागी हुनुभएका मन्त्री नेम्वाङले स्थानीय स्तरका विकास निर्माणका कामहरुलाई द्रूत र प्रभावकारी बनाउन विशेष जोड दिइने वताउनुभयो । उहाँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सहित मुख्य सडक तथा पूर्वाधारका आयोजनाहरु समयमै पूरा गर्न सरकारले प्रभावकारी पहल जारी राख्ने वताउनुभयो ।

उहाँले पाँचथरको सदरमुकाम फिदिम क्षेत्रका सडक विस्तार तथा कालोपत्रे, फिदिम स्थित खेलमैदानको स्तरोन्नति र जिल्ला अस्पतालमा भेन्टिलेटर, आइसीयू र अक्सिजन प्लान्ट स्थापनाको कार्य द्रूत बनाउने निर्देशन दिइएको वताउनुभएको छ ।

पत्रकार भेटघाटमा नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेशसभा सदस्य सीता थेबे, नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, नेकपा प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ लगायत नेताहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्