तुम्बेवामा एकीकृत विकास रणनीतिक योजना निर्माण हुने



पाँचथर, १२ मङ्सिर

पाँचथरको तुम्बेवा गाउँपालिकामा एकीकृत विकास रणनीतिक योजना निर्माण हुने भएको छ ।

रणनीतिक योजना निर्माणका लागि गाउँपालिकामा आज पाँच दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रदेश सरकारको ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत स्विस अन्तर्राष्ट्रिय विकास सहयोग (एसडीसी)को प्राविधिक सहयोग तथा गभर्नेन्स एण्ड डिजाइन सोलुसन (जीडीएस) नेपालको सहजिकरणमा रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न भएको हो ।

गाउँपालिकाको एकीकृत विकास रणनीति तय गर्न पाँच दिनसम्म गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुवीच घनिभूत छलफल भएको तुम्बेवा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

रणनीतिक योजना तर्जुमासम्बन्धी गोष्ठी मार्फत गाउँपालिकाको एकीकृत विकासको पहल थालेकामा आज आयोजित समापन कार्यक्रममा तुम्बेवा स्थित राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिका, प्रदेश सरकार तथा सम्वद्ध सहयोगी संस्थाहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रदेश सहयोग कार्यक्रम जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ का चार वटा स्थानीय तहमा लागू भएको हो । प्रदेश र स्थानीय सरकारबीच रणनीतिक साझेदारी अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यसअघि जिल्लाको फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा समेत विकास रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भइसकेका छन् ।

योजना तर्जुमा गोष्ठीहरुमा तर्फबाट विके महर्जन, मण्डु अधिकारी लगायतको टोलीले सहजीकरण गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । गोष्ठीमा दीर्घकालीन सोचसहित विषयगत रणनीतिक योजना निर्माण, राजश्व सङ्कलनमा सुधार, खर्च संरचनाको आवधिक योजनाको प्रस्तुति, स्थानीय तहहरुका सवल र दुर्वल पक्ष तथा सम्भावनाहरुको खोजी, लक्ष्य तथा उद्देश्यहरुको निर्धारण लगायत विषयमा छलफल गरिएको छ ।

आज सम्पन्न गोष्ठीका आधारमा तुम्बेवा गाउँपालिकाको एकीकृत विकास रणनीतिक योजना निर्माणका कार्य क्रमशः अगाडि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्