सरकार मुलुक र जनताको सुरक्षामा संवेदनशील छः मन्त्री नेम्वाङ



फालोट (पाँचथर), १० मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील रहेको वताउनुभएको छ ।

पाँचथरको फालेलुङ गाँउपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन गर्दै मन्त्री नेम्वाङले एकैसाथ सयौँ बीओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको वताउनुभयो ।

मन्त्री नेम्वाङले सिमित स्रोत साधनको उपलब्धता हुँदा समेत धेरै बीओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सवल बनाउन, छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको वताउनुभयो । “यो सरकारले एकैसाथ यति धेरै काम थालेपछि यो सरकार जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने कुरा स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

सरकारले पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालेको पहल दूरगामी महत्वको रहेको वताउनुभयो । एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसीटी ल्याब स्थापना गरिनु लगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उहाँको भनाई छ । मन्त्री नेम्वाङले बीओपी सहित सुरक्षा निकायलाई प्रविधि र पूर्वाधारयुक्त बनाई सुरक्षा निकायलाई सवल बनाउने वताउनुभयो ।

मन्त्री नेम्वाङले सरकार महामारीका वीच पनि समस्याग्रस्त क्षेत्रको सुधार गर्दै, पूर्वाधार विकास गर्दै समृद्धिको यात्रामा रहेको र आम नेपालीले यहि चाहेको भन्दै नेपाल कम्युष्टि पार्टी (नेकपा) विभाजन नहुने स्पष्ट पार्नुभयो । आज उद्घाटन भएको उक्त बीओपीमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १९ जना सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं. गुल्म फिदिममा प्रमुख किशोरकुमार श्रेष्ठले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्