समयानुकुल प्राविधिक शिक्षा विस्तार द्रूत गतिमा अघि बढ्छः मन्त्री नेम्वाङ



पाँचथर, ११ मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयानुकुल प्राविधिक शिक्षा विस्तारको कार्य द्र्रूत गतिमा अघि बढ्ने वताउनुभएको छ ।

आज पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ सिवा स्थित सिद्धकालिका माध्यमिक विद्यालयमा सूचना सञ्चारप्रविधि कक्ष (आसीटी ल्याब)को उद्घाटन गर्दै मन्त्री नेम्वाङले प्राविधिक शिक्षाले मात्रै सबै शैक्षिक जनशक्ति स्वरोजगार बन्न सक्ने वताउनुभयो ।

स्वरोजगार जनशक्तिको उत्पादनले मुलुकको समृद्धिको यात्रालाई ठोस् योगदान हुनसक्ने मन्त्री नेम्वाङको भनाई छ । पाँचथरका छ वटा विद्यालयहरुमा आइसीटी ल्याब स्थापना भइरहेको जानकारी दिँदै मन्त्री नेम्वाङले सरकारले पाँचथरमा जस्तै देशभरका सबै माध्यमिक विद्यालयहरुमा प्राविधिक शिक्षा विस्तार गर्दै लैजाने वताउनुभयो । उहाँले प्राविधिक शीपयुक्त जनशक्ति उत्पादनमा आम समुदायको सहयोगको अपेक्षा समेत गर्नुभयो ।

प्राविधिक शिक्षाका लागि आवश्यक विद्युत विस्तारको कार्य समेत द्रूत गतिमा अघि बढेको मन्त्री नेम्वाङले वताउनुभयो । मन्त्री नेम्वाङले शिक्षकहरुलाई प्रविधिलाई प्रयोग गर्न सक्षम भई विद्यार्थीहरु मार्फत आम समुदायमा प्रविधिको विस्तार गर्ने कार्यमा योगदान गर्न आग्रह गर्नुभयो ।

इन्टरनेट विस्तारको कार्यलाई द्रूत बनाउनकै लागि सरकारले देशका मुख्य राजमार्गहरुमा फाइवर विस्तारको कार्य थालेको उहाँको भनाई छ । मन्त्री नेम्वाङले सरकार चौतर्फी विकास मार्फत समृद्धि हाँसिल गर्ने दिशामा प्रयत्नरत रहेको र यहि कार्यका लागि जनताले मत दिएको उल्लेख गर्नुभयो । जनमतलाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघि बढ्नेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सिद्धकालिका माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर आङ्देम्बेले विद्यालयका आवश्यकताका विषयमा मागपत्र पेश गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक नन्दकिशोर तुम्रोकले आइसीटी प्रयोगशालाको सदुपयोगका लागि थप पूर्वाधार, प्रविधि र जनशक्ति आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रमलाई संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपाका जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ लगायतले समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्