आम नेपाली नेकपा एकताको पक्षमा छन्ः मन्त्री नेम्वाङ



पाँचथर, ११ मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आम नेपाली जनता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताको पक्षमा रहेको वताउनुभएको छ ।

जनताले स्थिरता र समृद्धिका लागि नेकपालाई करीब दुई तिहाई मत दिएर जिम्मेवारीमा पठाएको भन्दै मन्त्री नेम्वाङले प्रत्येक नेपालीका सपना पूरा गर्न नेकपा एकीकृत रहनुपर्नेमा जोड दिनुभयो ।

“आज हामी हेर्दैछौँ, पाँचथरदेखि दार्चुलासम्मका आम जनता नेकपा एकीकृत रहेको हेर्न चाहन्छन्”, पाँचथरको हिलिहाङ–६ भारपा स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि प्रयोगशाला (आइसीटी ल्याब)को आज उद्घाटन गर्दै मन्त्री नेम्वाङले भन्नुभयो “नेकपाको एकताले मात्रै विकास र समृद्धि मार्फत आम जनताका अपेक्षा पूरा हुन सक्दछन् ।”

नेकपाका आम नेता कार्यकर्ताका अतिरिक्त सर्वसाधारण जनता र मुलुकको हित चिताउने अन्य दलका नेता कार्यकर्ता समेत नेकपाको एकताको पक्षमा रहेको उहाँले वताउनुभयो । मन्त्री नेम्वाङ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुआत गरेको एकताको अभियान उहाँहरुबाटै पूरा हुने विश्वास पनि ब्यक्त गर्नुभयो । “यो एकतालाई अच्छुर्ण राख्दै मुलुकको मुहार फेर्ने काम पनि उहाँहरु (अध्यक्षद्वय)बाट मात्रै सम्भव छ”, मन्त्री नेम्वाङले भन्नुभयो ।

मन्त्री नेम्वाङले सरकार र नेकपाको गन्तब्य समेत निश्चित भइसकेको वताउनुभयो । “सरकार र पार्टीको एकमात्रै लक्ष्य भनेको समृद्धि हाँसिल गर्नु हो”, मन्त्री नेम्वाङले भन्नुभयो, “समृद्ध मुलुक निर्माणका लागि सरकारले थालेका प्रयत्नहरुको परिणाम क्रमशः देखिँदै जानेछ ।”

पूर्वाधार विकासका कामले गति लिनु, घर–घरमा खानेपानी पु¥याउने अभियान देशैभर चल्नु, शिक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियान अगाडि बढ्नु, सबै स्थानीय तहमा अस्पताल निर्माणको सुरुआत हुनु, प्रदेश र स्थानीय तहका सरकार समेत संघीय सरकारको अभियानमा सामेल हुनुले समृद्धि हाँसिल गर्ने दिशामा आम मुलुक एकाकार भएको मन्त्री नेम्वाङले वताउनुभयो ।

शिक्षालाई प्रविधिमैत्री बनाउन सरकारले लगानी बढाउँदै लगेको वताउँदै मन्त्री नेम्वाङले विद्यार्थीहरुका माध्यमबाट घर–घरमा प्रविधि पुग्ने अवस्था सिर्जना गरिने वताउनुभयो ।

“यसका लागि सरकारले मुख्य राजमार्गहरुमा इन्टरनेटको फाइबर बिछ्याने तथा सबै घर विद्युत पु¥याउने कार्यलाई द्रूत पारेको छ”, उहाँले भन्नुभयो, “समाजका समग्र क्षेत्रको सुधार र विकास मार्फत मात्रै समृद्धि हाँसिल हुन्छ भन्नेमा सरकार स्पष्ट छ ।” मन्त्री नेम्वाङले केही वर्षमै देशभरका खर र फुसका छाना हटाउने कार्य पनि पूर्ण हुने वताउनुभयो ।

पाँचथरका विभिन्न पाँच वटा विद्यालयहरुमा आइसीटी ल्याब स्थापना भएको हो । ल्याब स्थापना भएका विद्यालयहरुले ल्याब सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तथा प्रविधिमा समेत सघाउ पु¥याउन सरकारलाई आग्रह गरेका छन् । आज ल्याब उद्घाटन भएको सिद्धेश्वरी मावि भारपाका प्रधानाध्यापक नीतिराज भण्डारीले भन्नुभयो, “ल्याबको भरपुर उपयोगमा थप प्राविधिक सहयोग आवश्यक छ ।”

कार्यक्रममा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेशसभा सदस्य सीता थेबे, जिल्ला समन्वय समितिका प्रमुख विस्नुप्रसाद सापकोटा, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देन, नेकपा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी लगायतले समेत आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्