फाल्गुनन्दद्वारा राँकेमा कोभिड–१९ अस्थायी अस्पताल स्थापना



पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पाँचथर–इलाम सीमावर्ती बजार राँकेमा कोभिड–१९ अस्थायी अस्पताल स्थापना गरेको छ ।

राँके स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनसँगै रहेको भवनमा स्थापित पाँच बेडको उक्त अस्पतालको आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले उद्घाटन गर्नुभयो ।

अस्पतालमा दुई जना स्टाफनर्स रहेका छन् । एक चिकित्सक नियुक्तिका लागि समेत विज्ञापन गरिएको भएपनि आवेदन नै नपरेको र नियुक्तिका लागि पहल गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

उक्त अस्थायी अस्पतालको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुरुम्बाङले विगतमा फाल्गुनन्दका अतिरिक्त अन्य स्थानीय तह र पाँचथर बाहिरका मानिसलाई समेत क्वारेन्टिनमा राखी ब्यवस्थापन गर्दा फाल्गुनन्दलाई ठूलो आर्थिक भार परेको वताउनुभयो ।

“महामारी फैलियो भने हामी पनि प्रभावित हुन्छौँ भनेर नाकाको गाउँपालिका भएकाले हामीले क्वारेन्टिन ब्यवस्थापनमा ठूलो लगानी गर्यौँ”, अध्यक्ष कुरुम्बाङले भन्नुभयो “आर्थिक हिसाबले हामी मारमा परेपनि योगदान र जिम्मेवारी वहन गर्ने हिसाबले हामी सधैँ माथि रहन्छौँ ।”

उहाँले कोभिड–१९ अस्थायी अस्पताल स्थापनाले गाउँपालिका भित्र भेटिने कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुग्नुका साथै समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले अस्पताल स्थापना भएपनि सतर्कता र सचेतना अपनाउने विषयलाई थप प्रचार गरिनु आवश्यक रहेको औँल्याउँदै सकेसम्म सङ्क्रमण फैलन नदिन नै जोड दिनुपर्ने वताउनुभयो ।

कोभिड–१९ अस्थायी अस्पताल स्थापित फाल्गुनन्द–४ का वडाध्यक्ष मनबहादुर चेम्जोङले क्वारेन्टिन ब्यवस्थापनका क्रममा फाल्गुनन्द गाउँपालिकाले सबै जिल्लावासी आफ्नै ठानेर सेवा दिएको वताउनुभयो । यस क्रममा स्थानीयवासी तथा ब्यवसायीहरु, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतले धेरै ठूलो मद्दत गरेको वताउँदै उहाँले अब कोभिड अस्पताल मार्फत कोरोना महामारीबाट बच्न पनि उत्तिकै योगदान हुने अपेक्षा गर्नुभयो ।

फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिंह नेम्वाङले सिकाई र अन्यौलमै कोरोनाको महामारीसँग जुध्दै हिँड्नु परेको वताउँदै अस्पताल स्थापनाका सन्दर्भमा समुदाय स्तरबाट समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

राँके बजार ब्यवस्थापन समितिका श्रीबहादुर बिष्टले राँके स्थानीयवासी तथा ब्यवसायीले समग्र जिल्लालाई ठूलो गुन लगाएको वताउँदै उनीहरुको योगदान भुल्न नहुने वताउनुभयो ।

पाँच बेडको अस्पतालमा दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । फाल्गुनन्द गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश भट्टराईका अनुसार अस्पतालमा विरामीको अक्सिजनको लेभल हेर्ने, न्यूनतम औषधि दिने, सामान्य स्वास्थ्य अवस्थाको नियमित परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्