प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य



पाँचथर, ०६ मङ्सिर

पाँचथरमा जिल्ला प्रशासन कार्यालयका सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विहीवार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा राष्ट्रिय परिचयपत्रको फोटोकपी वा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको कन्फरमेसन पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने जनाएको छ ।

प्रशासनले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, संघ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण तथा नाता प्रमाणित गर्न र नाबालक सिफारिस गर्ने अभिभावकका साथ उक्त सामग्री सम्लग्न राख्नुपर्ने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार सरकारले वित्तीय संस्थामा खाता खोल्न, चलअचल सम्पत्ति विक्री गर्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद विक्री गर्न, लोकसेवा आयोगको फारम भर्न, राहदानी बनाउन, पानी, विद्युत तथा टेलिफोनको विल तिर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेकाले नागरिकता प्राप्त सबै ब्यक्तिका लागि कार्यालयमा उक्त ब्यवस्था गरिएको हो ।

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरणको काम पाँचथर जिल्लाबाट सुरुआत भएकाले यसको प्रयोग अनिवार्य गर्ने कार्यको सुरुआत पनि पाँचथरबाटै हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्