

पाँचथर, ०६ मङ्सिर
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने र फुट्न नदिइने वताउनुभएको छ ।
मुलुकको आवश्यकता र जनताको चाहनालाई ख्याल गरेर नेकपा फुटाउन नहुने र फुटाउन नदिइने उहाँको भनाई छ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. २ माङ्जाबुङमा हिँजो विद्युतिकरणको उद्घाटन गर्दै मन्त्री नेम्वाङले विकासमा फड्को मार्दै समृद्धिको यात्रा तय गर्न लागेको अवस्थामा नेकपा एकीकृत रहोस् भन्ने जनचाहनालाई नेताहरुले मनन् गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
“नेपाली जनताले स्थायी सरकारमार्फत विकास र समृद्धिका लागि दिएको अभिमतलाई नेताहरुले बुझ्नुपर्छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “नेकपा एक ढिक्का भई मुलुकको विकास र समृद्धि होस् भन्ने आम कार्यकर्ता र जनताको चाहनलाई नेताहरुले बुझ्नुपर्छ ।” राष्ट्र र जनताको आवश्यकता तथा कम्युनिष्ट पार्टीको मान्यताअनुसार सरकार र पार्टीवीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री नेम्वाङको भनाई छ ।
मन्त्री नेम्वाङले समृद्धिका लागि रणनीतिक तथा अत्यावाश्यक सडक सञ्जाल विस्तार तथा मुख्य ग्रामीण सडकहरुको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको, फुसका छाना हटाउने अभियान अघि बढेको, देशका ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण पूरा हुन लागेको वताउनुभयो ।
नेपानी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा संख्यात्मक र गुणात्मक सुधार हुँदै गएको उहाँको भनाई छ । खानेपानी, सिंचाई, विद्युतिकरण लगायतका काममा जनसहभागिता बढ्दै गएको पाइएको भन्दै मन्त्री नेम्वाङले विकासको अभियान नरोक्न पनि नेकपा विभाजन हुन नहुने वताउनुभयो ।
कुम्मायक–२ का ७२५ घरधुरीमा विद्युतिकरण भएपछि मन्त्री नेम्वाङले आज आयोजित कार्यक्रममा उद्घाटन गर्नुभएको हो । यहाँ रु. छ करोड ९३ लाख ३२ हजार ८५१ को लागतमा विद्युतिकरणको काम सम्पन्न भएको हो । हिँजो मन्त्री नेम्वाङले मिक्लाजुङ गाउँपालिका वडा नं. १, २, ६, ७ र ८ मा समेत विद्युतिकरण उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रदेसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबे, संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, नेकपाका जिल्ला अध्यक्ष राजकुमारी भण्डारी, नेकपा प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ, कुम्मायक गाउँपालिकाका उपाध्यक्ष सीता आचार्य लगायतको उपस्थिति थियो ।