

पाँचथर, ०६ मङ्सिर
पाँचथरमा हिँजो एकैदिन तीन हजार घरमा विद्युतिरकणको उद्घाटन गरिएको छ । यस्तै एक विद्यालयमा आइसिटी ल्याब तथा एउटा विद्युत सवस्टेशनको शिलान्यास गरिएको छ ।
जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका २९९० घरमा विस्तार भएको विद्युतको पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको हो । हिँजो नै काठमाण्डौँबाट हेलिकोप्टरमा जिल्ला आउनुभएका मन्त्री नेम्वाङले पाँच वटा कार्यक्रममा सहभागी भई विद्युतिकरणको उद्घाटन गर्नुभएको हो ।

दुई वटा गाउँपालिकाका छ वटा वडामा विद्युतिकरणको काम पूरा भएपछि हिँजो एकैदिन उद्घाटन सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रमअन्तर्गत विद्युत सहकारी संस्थाहरुको अगुवाईमा विद्युत विस्तार गरिएको हो ।
जिल्लाको कुम्मायक गाउँपालिका वडा नं. २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत सहकारी संस्थाको अगुवाईमा विद्युतिकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्रा.लि. काठमाण्डौँले रु. छ करोड ९३ लाख ९४ हजार ४४५ को लागतमा विद्युतिकरणको काम सम्पन्न गरेको छ । विद्युत विस्तारका लागि एचटी लाइन १२.७ किलोमिटर, एलटी लाइन ६१.९६ किलोमिटर विस्तार गरिएको छ भने चार वटा ट्रान्सफर्मर राखिएको उक्त विद्युत सहकारीले जनाएको छ ।

यस्तै मिक्लाजुङ गाउँपालिका वडा नं. १ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत सहकारी संस्थाको अगुवाईमा विद्युतिकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्रा.लि.ले नै रु. १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतिकरणको काम पूरा गरेको छ ।
यहाँ एचटी लाइन २२.३९ किलोमिटर तथा एलटी लाइन ९२.६० किलोमिटर विस्तार गरिएको छ भने १० वटा ट्रान्सफर्मर रहेको विद्युत सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यस्तै मिक्लाजुङकै वडा नं. ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत सहकारी संस्थाको अगुवाईमा यहाँका ८६० घरमा विद्युतिकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इन्जिनियरिङ जेभीले रु. पाँच करोड १२ लाख ७९ हजार २९५ को लागतमा यहाँ विद्युतिकरणको काम सम्पन्न गरेको हो ।

विद्युत विस्तारका लागि १७.४१ किलोमिटर एचटी लाइन र ५९.३२ किलोमिटर एलटी लाइन विस्तार गरिनुका साथै आठ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत सहकारीका अध्यक्ष फणिन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यस्तै मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत सहकारी संस्थाको अगुवाई विद्युतिकरणको कार्य पूरा भएको हो । यहाँ समेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इन्जिनियरिङ जेभीले रु. ४ करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतिकरणको काम पूरा गरेको हो ।
विद्युत विस्तारका लागि १५.९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत सहकारीले जनाएको छ । लिम्बा र दुर्दिम्बामा वि.सं. २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतिकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतिकरणको सुरुआत भएको प्राधिकरणका इन्जिनियर विधान पोखरेलले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले विद्युत विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत सहकारीहरुले उपभोक्ताहरुबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतिकरणको कार्य अगाडि बढाएका थिए । ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि हालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नै विशेष पहल गर्दै आउनुभएको छ ।
नेम्वाङकै पहलमा जिल्लाका ६० वटै वडामा विद्युत विस्तार भइरहेको छ । सबै घरमा विद्युतिकरणको कार्य पूरा गरी जिल्लालाई चालु आर्थिक वर्ष भित्रै अध्याँरोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले वताउनुभयो । पछिल्लो पटक नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत सहकारीबाट काम नभएका स्थानमा प्राधिकरण मार्फत पनि विद्युतिकरणको कार्य अगाडि बढाइएको छ ।

मन्त्री नेम्वाङले हिँजो जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. १ ढुकुरेमा विद्युत सवस्टेशन निर्माणको शिलान्यास समेत गर्नुभएको थियो । तुम्बेवा गाउँपालिका वडा नं. १ ढुकुरेमा ६÷८ एमभीए क्षमताको सवस्टेशन निर्माणका हुन लागेको हो । नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतिकरण कार्यक्रम अन्तर्गत उक्त सवस्टेशनका लागि कूल रु. १७ करोड ८५ लाख १२ हजार ७४३ लागत रहेकामा वाइबा इन्फ्राटेक प्रा.लि. काठमाण्डौँले रु. १६ करोड १७ लाख ५७ हजार ५८० लागतमा उक्त निर्माण कार्यको ठेक्का पाएको छ ।