फिदिममा ११ जना कोरोना सङ्क्रमित थपिए



फिदिम । स्वाब सङ्कलन भएको एक सातामा प्राप्त रिपोर्टमा पाँचथरको फिदिममा ११ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

फिदिममा गत कात्तिक २५ गते १७ जना सङ्क्रमित थपिएपछि कात्तिक २६ गते १०४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । कोशी प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो ।

यस्तै हिजो मात्रै जिल्लाको फालेलुङ, हिलिहाङ र मिक्लाजुङका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ढिलो गरी रिपोर्ट प्राप्त हुनु, सानो ठाउँ भएका कारण फिदिममा स्थानीयवीच एकापसमा छिटो सम्पर्क हुनु तथा अधिकांश सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिनुले फिदिममा सङ्क्रमणको जोखिम झनै बढाएको देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नं. १ का अनुशार हाल पाँचथरमा ८१ जना पुरुष र २४ जना महिला गरी १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ महिला र ३५ पुरुष गरी ४१ जना निको भएका छन् ।

उक्त कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ६३ जना रहेको छ । सङ्क्रमण भएको तीन साता पुगेका तर पीसीआर नभएका सङ्क्रमितहरुलाई समेत सक्रिय सङ्क्रमितकै सूचिमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्