सडक निर्माण समयमै सम्पन्न गर्न उपभोक्ता सक्रिय



पाँचथर । फिदिम–लुङरुपा सडक अन्तर्गत कालोपत्रेको काम सुरु भएको फिदिम–रानीटार खण्डको काम समयमै सम्पन्न गराउन स्थानीय उपभोक्ता सक्रिय भएका छन् ।

निर्माण सम्झौता सम्पन्न भएको आठ महिनासम्म सडक निर्माणले उल्लेख्य गति नलिँदा निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने भन्दै उपभोक्ताहरुले दबाव दिन थालेका हुन् । फिदिम नगरपालिका वडा नं. १, ७, १३ र १४ का उपभोक्ताहरुको हालै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हर्कबहादुर नेम्वाङको अध्यक्षतामा भएको एक भेलाले निर्माण कार्यले गति नलिँदा समयमै निर्माण सम्पन्न नहुने निश्कर्ष निकालेको छ ।

भेलाले निर्धारित समयमा निर्माण कार्य पूरा गराउन सरोकारवाला निकायमा दबाव सिर्जना गर्ने तथा सडक निर्माणका क्रममा समस्या उत्पन्न भए सहजिकरण गर्ने निर्णय समेत गरेको छ । यसका लागि फिदिम–७ का वीरेन्द्र बाँस्कोटाको संयोजकत्वमा उपभोक्ता सरोकार समिति समेत गठन गरिएको छ ।

फिदिम–१ शिवालय मन्दिरबाट फिदिम–८ नाङलप्पासम्मको ७.८० किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्नका लागि गत चैतमा सफल विल्डर्स प्रा.लि. इलामले ठेक्का पाएको थियो । रु. २३ करोड ७० लाखको लागतमा उक्त सडक खण्डको कालोपत्रे हुन लागेको हो ।

अहिले देखिएको निर्माणको गतिले निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने तथा उपभोक्ताहरुले सधैँ सास्ती खेप्नुभएको भएका कारण आफूहरुले निर्माण कार्यमा सहयोग र खवरदारी गर्न लागेको नवगठित सरोकार समितिका संयोजक बाँस्कोटाले वताउनुभयो ।

यता निर्माण कम्पनीले आठ महिनाको अवधिमा करीब ११ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । निर्माण कम्पनीका फिल्ड निर्देशक भीम गजुरेलले निर्माण सम्झौतालगत्तै बन्दाबन्दी सुरु भएकाले निर्माण कार्यले गति लिन नपाएको वताउनुभयो ।

छठपछि निर्माण कार्यले गति लिने वताउँदै उहाँले उपभोक्ताहरुको सक्रियता र सहजिकरणको आश्वासनले निर्माण कार्य समयमै सम्पन्न गर्न सहयोग पुग्ने वताउनुभयो । प्रदेश सरकारले फिदिमलाई पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने उद्देश्यसहित यो सडक निर्माण थालेको हो ।

प्रतिक्रिया दिनुहोस्