

पाँचथर । तीन स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएसँगै पाँचथरबाट भारतसँगको सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएको छ ।
भारतसँग ४४.८ किलोमिटर सीमा जोडिएको पाँचथरमा याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा सुर्केथाममा बिओपी स्थापना भएपछि सीमासम्म सुरक्षा निकायको उपस्थिति पुगेको हो । विहीवार पाँचथरको याङवरक–१ लामपोखरी सुकेढापमा बिओपी तोरीफूलेको उद्घाटन गरिएको छ ।
उक्त बिओपीको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल गिरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यस अघि भदौ अन्तिम साता याङवरककै चिवाभञ्ज्याङ तथा फालेलुङको सुर्केथाममा बिओपी स्थापना भएको थियो ।

बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल गिरीले नागरिकलाई सुरक्षित महशुस गराउन सीमासम्म सशस्त्र प्रहरीको उपस्थिति महत्वपूर्ण हुने वताउनुभयो ।
सीमास्तम्भको सुरक्षा, नेपाली भूमि मिचिनबाट राक्ने, अवैध प्राकृतिक दोहन नियन्त्रण, वन पैदावार तथा जडिबुटी संरक्षण, अवैध चोरी, शिकारी, निकासी तथा सीमालाई आधार बनाई हुने गैरकानूनी तथा आपराधिक गतिविधि रोक्न बिओपीहरु सफल हुने गिरीको विश्वास छ । मन्त्रिपरिषदको २०७६ मङ्सिर २९ को निर्णयअनुसार पाँचथरका चार स्थान मध्ये तीन स्थानमा बिओपी स्थापना भएको वताउँदै उहाँले बाँकी एक स्थान चाँडै बिओपी स्थापना गरिने वताउनुभयो ।
याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बेला बखत भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न बिओपी स्थापना निर्णायक काम भएको वताउनुभयो ।

भारतसँग सीमा जोडिएको नेपाली भूभाग जैविक विविधता, पर्यापर्यटनका दृष्टि अतिमहत्वपूर्ण रहेको वताउँदै अध्यक्ष घिमिरेले यहाँका प्राकृतिक वनस्पति, जडिबुटी र बन्यजन्तु संरक्षणमा बिओपी स्थापनाले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले स्थानीयवासीबाट नेपाली भूभाग सहित यहाँ काठपात, जडिबुटी, बन्यजन्तु भारतीय पक्षले निर्वाध प्रयोग गरिरहेको गुनासो सुनिँदै आएकामा अब ती सबै समस्या हल हुने अपेक्षा गर्नुभयो ।
बिओपी स्थापना भई सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएपछि स्थानीयवासीले खुशी ब्यक्त गरेका छन् । याङवरक–२ मचिन्द्र बेघाका अनुशार सीमा क्षेत्रमा सरकारी उपस्थितिले सीमा अतिक्रमण रोक्न सहयोग गर्नुका साथै नेपाली भूमिमा रहेका अमूल्य प्राकृतिक सम्पदा संरक्षण हुने वताउनुभयो । “हामीले पटक–पटक भन्दै आएका थियौँ ।

अब सीमा क्षेत्रमा दीर्घकालीन रुपमा सुरक्षाकर्मी बस्ने भएपछि सीमा क्षेत्रका स्थानीयवासीले सुरक्षित महशुस गरेका छौँ” बेघाले भन्नुभयो । सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी नहुँदा गोठालाहरुलाई भारतीय सीमा सुरक्षा फौजले विभिन्न बाहनामा दुःख दिने गरेको स्थानीयवासीको भनाई छ । याङवरक–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले बिओपी स्थापनाले सुरक्षा र संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने वताउनुभयो ।
सशस्त्र प्रहरी बल २ नं. गुल्म फिदिमका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार बिओपीहरुमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा ३५ जना सुरक्षाकर्मी रहनेछन् । यसअघि चिवाभञ्ज्याङ र सुर्केथाममा सीमा क्षेत्रको नजिकै बिओपी स्थापना गरिएको छ ।

बिओपी राख्नुपर्ने तोरीफूलेमा भने कुनै पनि संरचना छैनन् । सीमाभन्दा करीब चार किलोमिटर टाढा लामपोखरी सुकेढापमा रहेको भवनमा अस्थायी रुपमा बिओपी स्थापना गरिएको हो । तोरीफूलेमा भवन निर्माणको कार्य अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।
बिओपी स्थापनाअघि भारतसँग सीमा जोडिएको फालेलुङमा सीमा लक्षित कुनै पनि संरचना थिएनन् । याङवरकतर्फ भने च्याङथापूमा सीमा प्रहरी चौकी रहेको छ ।
तर सिमित स्रोध साधन र भौगोलिक कठिनाई कारण सीमा प्रहरी चौकीले सीमासम्म आफ्नो उपस्थिति पु¥याउन सकेको थिएन । फालेलुङतर्फ भारतले सीमा अतिक्रमण गर्नुका साथै संरचना निर्माणमा अवरोध गरिरहेको स्थानीयवासीले वताउने गरेका छन ।

