जेष्ठ नागरिकलाई स्वास्थ्य प्रवर्द्धनात्मक आयुर्वेदिक औषधि



पाँचथर । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा यहाँ जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य प्रवर्द्धनात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरले फिदिम नगरपालिका–२ डुम्रिबोटेमा रहेको जेष्ठ नागरिक आश्रमका १९ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी उपयुक्त हुने आयुर्वेदिक औषधि वितरण गरेको हो ।

वृद्धाश्रमका जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण नभइरहेको तथा सामान्य स्वास्थ्य समस्यामा समेत औषधि सेवन गर्ने बानीले स्वास्थ्यमा झनै समस्या हुनसक्ने भएकाले आयुर्वेदिक औषधिको प्रयोगका लागि उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका कविराज खगेन्द्र पौडेलले वताउनुभयो ।

स्वास्थ्य प्रवद्र्धनात्मक आयुर्वेदिक औषधिको प्रयोगले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि भई कोभिड–१९ जस्ता महामारीसँग जुध्न सघाउ पुग्ने अपेक्षा गरिएको पौडेलको भनाई छ ।

गत भदौमा फिदिममा स्थापित भएको उक्त कार्यालयले समुदायस्तरमा आयुर्वेदिक औषधिको प्रयोग तथा स्वस्थ जीवन प्रवद्र्धनको सन्देश पु¥याउने उद्देश्यले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा जेष्ठ नागरिक आश्रमबाट सोसम्बन्धी कार्यक्रमको थालनी गरेको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथर सञ्चालक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले स्वस्थ र दीर्घ जीवनका लागि आयुर्वेदिक औषधिको प्रयोग, ब्यायाम, योग, प्राणायम जस्ता विधिको अवलम्बनका लागि समुदायसम्म सन्देश पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्