

पाँचथर, २५ कात्तिक
पाँचथरको उत्तरी साविक ओयाम गाविसका सबै विषयवस्तुहरुलाई समेटेर लेखिएको पुस्तक ‘ओयाम एक तस्वीर’ विमोचन गरिएको छ ।
हाल याङवरक गाउँपालिका वडा नं. ३ मा समेटिएको यस साविक गाविसको इतिहासदेखि वर्तमानसम्मका विषयवस्तुहरुलाई समेटेर यहाँका सुजन सेलिङ लिम्बूले उक्त पुस्तक तयार पार्नुभएको हो । पुस्तकको आज याङवरक गाउँपालिका वडा नं. ३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा आयोजित विमोचन कार्यक्रममा पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगूले विमोचन गर्नुभयो ।
पुस्तक विमोचन गर्दै जवेगूले प्रत्येक वडा, स्थानीय तह तथा जिल्लाहरुले आ—आफ्ना इतिहास र वर्तमानहरु कहिल्यै नमेटिने गरी सुरक्षित गर्न यो कार्यक्रमले सन्देश दिएको छ भन्नुभयो । उहाँले यस प्रकारका सिर्जनशील अभियानहरु अन्यत्र समेत चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले समाजका लागि विगतमा योगदान दिनेहरुको सम्मान र वर्तमानको यथार्थ चित्रणमार्फत भविश्यका योजनासमेत समेट्न उक्त पुस्तक प्रकाशनले आफूहरुलाई पाठ सिकाएको वताउनुभयो । पुस्तकका विषयमा साहित्यकारहरु प्रेम ओझा, मधुराज केरुङ र उदय सावदेनले बोल्नुभएको थियो ।
२०० पृष्ठमा समेटिएको यस पुस्तकमा साविक ओयाम गाविसका सबै टोलहरुको चिनारी, २१ जना राजनीतिक, सामाजिक तथा ब्यवसायिक अगुवाहरुको संघर्ष र इतिहासको परिचय, ओयाम भित्रका कला, साहित्य र संगीतका गतिविधि तथा तिनमा अब्बल ब्यक्तित्वहरुको परिचय, शैक्षिक अगुवा र शैक्षिक संस्थाहरुको परिचय, छ वटा पर्यटकीय स्थानहरुको परिचय, एक खेलाडीको परिचय र आगामी ५० वर्षपछिको ओयामको परिकल्पना समेटिएको छ ।
वुद्ध अफसेट झापाबाट छपाई गरिएको पुस्तक आजैबाट पाठकका माझ पु¥याइएको पुस्तकका लेखक एवं सङ्कलक सेलिङले वताउनुभयो । आफ्नो मातृभूमिलाई भावी पुस्ताले सम्झिउन भन्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक सेलिङको भनाई छ । यसअघि उहाँले ‘युद्धले भुलेको बाँकी युद्ध’ नामको कविता संग्रह प्रकाशन गरिसक्नु भएको छ ।