कार्यकर्तालाई पार्टी नफुट्ने आश्वस्त पार्दै जिल्ला नेता



पाँचथर, २३ कात्तिक

विभाजन हुने पटक—पटकका चर्चामाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विवाद झनै बल्झँदो छ । तर जिल्लामा भने नेताहरु गाउँ—गाउँ पुगेर कार्यकर्तालाई पार्टी नफुट्ने कुरामा आश्वस्त पार्न ब्यस्त छन् । कार्यकर्तामा निराशा पैदा हुन नदिन जिल्लामा केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्लाका विभिन्न तहका नेता कार्यकर्तामाँझ ‘यस्ता विवाद बेला बखत आइरहने भएपनि विभाजनको तहमा नपुग्ने’ भनेर कार्यकर्तालाई सम्झाउँदै छन् ।

आइतबार जिल्लाको याङवरक गाउँपालिका वडा नं. ३ वडा कमिटीले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा पुगेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले विवाद हुँदैमा पार्टी नफुट्ने भनेर कार्यकर्तालाई सम्झाउनुभयो । फिदिमबाट ओयाम पुग्नुअघि भण्डारी सहितको टोलीलाई हिलिहाङ र याङवरकका कार्यकर्ता वीच बाटोमै भेटेर पार्टी फुट्ला कि नफुट्ला भन्ने प्रश्न गरे ।

“नेताहरुले आम कार्यकर्ताको चाहना बुझ्नुहुन्छ भन्ने हाम्रो पनि ठम्याई हो”, याङवरक—४ थर्पूमा कार्यकर्तालाई सम्झाउँदै भण्डारीले भन्नुभयो, “अब के उद्देश्यले नेताहरुले पार्टी फुटाउनु ?”
जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुभएका नेकपाका जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद सापकोटा ठूलो आशा र अपेक्षा गरेका कार्यकर्तामा ठूलो चासो र चिन्ता देखिनु सामान्य भएको वताउनुहुन्छ । तर केन्द्रमा देखिएका विवादहरु हल भई पार्टी पुनः क्रियाशील एवं सशक्त हुनेमा आफूहरु विस्वस्त रहेको वताउँदै सापकोटाले कार्यकर्तालाई सम्झाउने प्रयास गर्नुभयो ।

पछिल्ला केही दिनमा करीव आधा दर्जन वडाका कार्यकर्तालाई भेट्नुभएका नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ आम कार्यकर्ता पार्टी विभाजनको विपक्षमा रहेको वताउनुहुन्छ । “किन सधैँ कचिङ्गल हुन्छ भनेर कार्यकर्ताले ठूलो प्रेसर हामीमाथि छ”, नेम्वाङले भन्नुभयो, “एउता जीवन्त पार्टीमा छलफल र विचार विमर्श हुनुपर्छ भनेर सम्झाइरहेका छौँ ।”

कम्युनिष्ट पार्टी र द्वन्द्वात्मक भौतिकवाद मान्ने संगठन भएकाले वहसमै विभाजन हुन्छ भन्ने भ्रम नराख्न आफूहरुले आग्रह गर्दै आएको नेम्वाङको भनाई छ । आम कार्यकर्ताले अन्तर पार्टी निर्देशन (अपानी)मा विश्वास गर्नुपर्ने र विभिन्न उद्देश्यका साथ आउने प्रायोजित विषयहरुमा विश्वास गर्न नहुने नेम्वाङको ठम्याई छ ।

विशेषत स्थानीय तहमा पराजित भएका स्थानका कार्यकर्ताले विभाजनका हल्लाबारे ठूलो चासो र चिन्ता ब्यक्त गर्ने गरेका छन् । गाउँपालिकाको नेतृत्वमा तत्कालीन नेकपा (एमाले) विजयी भएपनि आफ्नो वडामा तत्कालीन दुवै दल मिल्दा समेत पराजित हुनुपरेको पीडा आइतवार याङवरक—३ ओयामका नेकपा कायकर्तामा देखिन्थ्यो । “हिँजो हामी मिल्दा पनि वडामा पराजित हुँदा अहिले आम कार्यकर्ता चिन्तित छन् र अब जसरी जित्नुपर्छ भन्ने चाहन्छन्”, नेकपा वडा कमिटीका अध्यक्ष अनिश सेलिङले भन्नुभयो ।

हलभरी खचाखच भरिएका कार्यकर्ताको उत्सुकता मेट्न उपस्थित कार्यकर्ताहरु नेताहरुले निकै गहन विषयहरु बोलिरहँदा काठमाण्डौँका हरेक खवरमा अपडेट छन् । आम कार्यकर्ता सधैँ नेताहरुले पार्टी र देशको हित हुने सन्देश ल्याउन भन्ने चाहना राखेर बस्ने गरेको आफूले पाएको नेकपा याङवरक गाउँपालिका कमिटीका अध्यक्ष नरबहादुर गुरुङको भनाई छ ।

उक्त कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष रहनुभएकी नेकपा जिल्ला सचिवालय सदस्य कमलकुमारी योङहाङले जनताका आवश्यकता पूरा गर्न कार्यकर्ता सधैँ खरो उत्रनुपर्नेमा जोड दिनुभयो । “हामी पालिकाको नेतृत्वमा छौँ भनेर हुँदैन् । आम कार्यकर्ताले दिशानिर्देश गर्नेगरी गतिविधि गरे हामीले त्यो मान्नेपर्ने हुन्छ”, योङहाङले भन्नुभयो ।

कार्यक्रममा नेकपा याङवरक गाउँपालिका कमिटीका सचिव महेन्द्र योङ्याले विपक्षीले रोक्दैमा नेकपा नरोकिने र सबै स्थानमा विजय हाँसिल गर्नेगरी गतिविधि गर्ने वताउनुभयो । कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्यद्वय बाबा मेन्याङ्बो र रामकुमार योङहाङ, इलाम जिल्ला कमिटी सदस्य सन्धी शंकर, गाउँपालिका कार्यालय कमिटी सदस्य डिल्ली सुवेदी लगायत नेताहरुको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी यहाँका पाँच जना नेकपामा प्रवेश गरेका थिए । उनीहरुले नेताहरुले अविर मालाले स्वागत गर्दै उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्