ब्रम्हाण्डकै रहस्यमय जीव, जो सास नफेरिकनै बाँच्न सक्छ



एजेन्सी । सास नलिइकन कुनै पनि जीवजन्तु बाँच्न सक्दैन भन्ने विषय हामी सबैलाई थाहा भएकै कुरा हो । किनकी श्वासप्रश्वास बिना कोही कसैको जैविक अस्तित्व हुँदैन । सास लिने क्रममा अक्सिजन ग्याँस शरीर भित्र प्रवेश गरेपछि मात्रै हामी बाँच्न सक्छौं ।

तर वैज्ञानिकहरु सास नलिइकनै बाँच्न सक्ने एक परजिवी फेला पारेका छन । यो परजीवी ब्रम्हाण्डकै पहिलो जीव हो, जो सास नफेरिकनै बाँच्न सक्छ । जेलीफिस जस्तै देखिने यो बहुकोषीय परजीवीमा माइट्रोकण्ड्रियल जिनोम हुँदैन ।

कुनै पनि जीवलाई सास लिन माइट्रोकण्ड्रियल जिनोमको आवश्यकता पर्छ । यही कारण यो परजीवीलाई बाँच्नका लागि अक्सिजनको आवश्यकता नपरेको हो । इजरायलको तेल अभिभ युनिभर्सिटीका वैज्ञानिकहरुको टिमले यस्तो रहस्यमय परजीवीको खोजी गरेका हुन ।

वैज्ञानिकहरुका अनुसार यो परजीवीले माछाबाट उर्जा प्राप्त गर्छ । तर यो परजीवीले माछालाई कुनै पनि प्रकारको हानी नोक्सानी पुर्याउँदैन । माछाले पनि यो परजीवीलाई कुनै नोक्सानी पुर्याउँदैन । यो परजीवी साल्मन माछामा पाइन्छ ।

यो परजीवी माछा जिउँदो रहुञ्जेल बाँच्न सक्छ । सास नलिईकनै बाँच्न सक्ने यो परजीवीको बैज्ञानिक नाम हेन्नीगुया साल्मिनीकोला ( Henneguya salminicola ) हो । अनुशन्धान टोलीका प्रमुख डयाना याहलोमीले बताए अनुसार यो परजीवी मानिस या अन्य जीव जन्तुका लागि पनि हानिकारक हुँदैन ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरुले यो परजीवीलाई फ्लोरोसेन्स माइक्रोस्कोपबाट हेरेका थिए । जसमा वैज्ञानिकहरुले माइट्रोकण्ड्रियल जिनोम नभएको तथ्य फेला पारेका थिए । यही तथ्यबाट सास नलिइकनै बाँच्न सक्ने ब्रम्हाण्डकै पहिलो जीव फेला पार्न वैज्ञानिकहरुलाई सफलता मिलेको हो ।

यसअघि सन २०१० मा पनि ईटलीका वैज्ञानिकहरुले माइट्रोकण्ड्रियल जिनोम नभएको एक जीव फेला पारेका थिए । त्यसको उर्जाको स्रोत हाइड्रोजन सल्फाइड रहेको थियो । तर यो नयाँ जीवलाई हाइड्रोजन सल्फाइडको पनि आवश्वकता नपर्ने डेलीमेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्