जनताको गुनासो सुन्न पर्यटनमन्त्री गृहजिल्लामा



फिदिम । ताप्लेजुङको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अनुगमन गरेका छन् ।

जनताको गुनासो सुन्न शुक्रबारदेखि गृहजिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले शनिबार आयोजनाको अनुगमन गरेका हुन्

जिल्लाको फुङलिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निर्माणाधीनमध्ये तमोर आयोजनामा करिब दुई हजार दुई सय मिटर लामो सुरुङमार्ग बनिसकेको छ ।

आयोजनाको तीन हजार चार सय मिटर लामो सुरुङ निर्माण हुने आयोजनाका व्यवस्थापक मणिराज पोख्रेलले बताए । सो निर्माण हुने सुरुङमध्ये दुई हजार दुई सय मिटर पूरा भएको तमोर जलविद्युत् आयोजनाका व्यवस्थापक पोख्रेलले जानकारी दिए ।

आयोजनाको एक हजार दुई सय मिटर सुरुङमार्ग बन्न बाँकी छ । ७३ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको टनेलको काम ४० प्रतिशत सकिएको पोखरेलले जानकारी गराए । लकडाउनबीच पनि निरन्तर काम भएकोले प्रगति भएको आयोजनाले जनाएको छ ।

आइसिटी प्रयोगशालाको उद्घाटन

मन्त्री भट्टराईले हिमाली जिल्ला ताप्लेजुङको सिवा माध्यमिक विद्यालयको आइसिटी प्रयोगशालाको उद्घाटन गरेका छन् । उद्घाटनपछि मन्त्री भट्टराईले विद्यार्थी तथा शिक्षकलाई अध्ययन तथा अध्यापन गराउन यस ल्याबले सहज हुन बताए । उनले जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर आउने र शिक्षालाई गुणस्तरीय बनाउन पहल गरिने बताए ।

विद्यार्थीलाई आधुनिक तरिकाबाट अध्ययनअध्यापन गराउने उदेश्यले प्रविधियुक्त ल्यावको स्थापना गरिएको हो । मन्त्री भट्टराई कै पहलमा मन्त्रालयको एक करोडको सहयोगमा ल्याबको स्थापना गरिएको सिंवा मा।वि।का प्रधानाध्यपक ओमनाथ गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्