आफ्नै निर्वाचन विवादमा, तर अन्य देशलाई प्रजातन्त्रको पाठ पढाउँदैछ अमेरिका



(सिएनएन/रातोपाटी)

बुुधबार बिहानै आईभोरी कोस्टस्थित अमेरिकी दूतावासले त्यहाँका नेताहरुसँग प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनप्रति आफ्नो प्रतिबद्धता देखाउन अपिल गर्दै विज्ञप्ति निकाल्यो । विश्वका धेरै देशमा निर्वाचन हुँदा अमेरिकी कुटनीतिज्ञहरुले यस्तै भाषामा विज्ञप्ति निकाल्छन् । विशेषगरी त्यस्ता देशमा जहाँ प्रजातन्त्र पूर्ण रुपमा सुरक्षित छैन ।

तर, आईभोरी कोस्टमा अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्नुुभन्दा केही घण्टाअघि अमेरिकी राष्ट्रपतिले आफ्नै निर्वाचनबारे जथाभावी टिप्पणी गरे । ह्वाइटहाउसमा स्थानीय समयअनुसार मंगलबार मध्यरातको केही घण्टा बितेपछि डोनाल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी जो बाइडेनविरुद्ध खनिए । उनले ‘मतगणना सबै बन्द हुनुुपर्छ’ भने ।

आधारहिन रुपमा उनले डेमोक्रेट्सहरुले धाँधली गरेको आरोप लगाए । ट्वीटरमा पनि उनले यस्तै आरोप लगाए, जसकारण ट्वीटरसहितका अन्य सामाजिक सञ्जालले उनका पोस्टहरुसँगै चेतावनीयुक्त सन्देश पनि राखिदिएको थियो । जहाँ उनका सन्देश विवादीत’ र ‘गलत’ हुनसक्ने उल्लेख थियो ।

तनावपूर्ण बहस र कुुरुप अभियानले पहिल्यै विदेशमा अमेरिकी प्रजातान्त्रिक प्रणालीको कमजोरी देखाइसकेको थियो, तर अमेरिकी नेताले खुलेयाम ‘मतलाई यसरी अवैध ठहर गर्न खोज्छन्’ भन्ने विषय धेरैका लागि अझै आश्चर्य थियो । धेरै देशमा ट्रम्पको टिप्पणीलाई आतङ्कका रुपमा लिइयो, केही देश यस्तो टिप्पणीबाट खुसी पनि थिए, जहाँ आलोचकहरुले लामो समयदेखि प्रजातान्त्रिक अधिकारबारे वासिङटन बढी जान्ने बनेको आरोप लगाउँछन् ।

बुधबार जर्मन रक्षामन्त्री एन्नीग्रेट क्राम्प कारेनबाउरेले अमेरिकाले धेरै खतरनाक अवस्था र सम्भावित संकट सामना गरेको बताए । ‘यो निर्वाचनको निर्णय भइसकेको छैन। अझै मतगणना भइरहेको छ । तर, नतिजाको वैधतालाई लिएर लडाइँ सुरु भइसकेको छ ।’

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले यस निर्वाचनबारे टिप्पणी गर्न अस्विकार गरे । यद्यपी, कन्जरभेटिभ पार्टीका विधायक तथा पूर्व विदेशमन्त्री जेरेमी हन्टले बीबीसीसँग भनेका छन्, ‘यस प्रक्रियाबारेको ठूलो बहसले पुटिन र सी जिनपिङजस्ता राष्ट्रपतिहरुको मुहारमा हाँसो ल्याउनसक्छ । उनीहरुले आफ्नै जनतातर्फ फर्किएर सोध्न सक्छन् – हामीले यस्तो तनाव व्यहोर्नुपरेको छैन, के यसमा तपाईं खुसी हुनुुहुुन्न ? र, यस्तो अवस्था पूर्णत विध्वंश हो ।’ हन्ट थप्छन्, ‘हामीले यो सम्झनुपर्छ कि विश्वभरको प्रजातन्त्रको प्रतिष्ठा यहाँ दाउमा परेको छ ।’

वर्षौँदेखि अमेरिकाले विश्वभर प्रजातान्त्रिक प्रक्रियाको न्यायाधिशका रुपमा आफुलाई उभ्याइरहेको छ, उसले मतदान प्रक्रियालाई निगरानी गर्छ, प्रजातान्त्रिक विपक्षीहरुलाई समर्थन गर्छ र निर्वाचनलाई अवमुल्यन गरेको वा धाँधली गरेको भन्दै देशहरुको आलोचना गर्छ । यसै साता अमेरिकी सिनेट विभागले चीनको अर्धस्वायत्त भूूभाग हङकङमा प्रजातान्त्रमाथि आक्रमण भएको भन्दै निन्दा गरेको थियो । रुसको निकट सहयोगी बेलारुसमा तनावपूर्ण निर्वाचनपछि निर्वाचित भएका अलेस्यान्द्र लुकासेन्कोलाई अमेरिकाले ‘वैध निर्वाचित नेता’ मान्दैन ।

नैतिक अधिकारको यस भावनामाथि अब विश्वका धेरै भूूभागमा प्रश्न उठ्नसक्नेछ । मङ्गलबारको मतदानपछि रुसी सरकारी प्रशारण संस्था आरटीले अमेरिकालाई क्षतिग्रस्त र विभाजित देश बनेको छ । ट्रम्पको टिप्पणीले निम्त्याउनसक्ने संभावित तनावलाई आरटीका धेरै स्तम्भकारले प्राथमिकतामा राखेका छन् । एकजनाले लेखेका छन्, ‘यो घटनाले अमेरिकी प्रजातन्त्रको कठोर तस्विर कोरेको छ ।’

चीनले आफ्नो निरङ्कुश मोडलको समर्थन गर्नका लागि अमेरिकी प्रजातन्त्रका कमजोरीहरुलाई लामो समयदेखि प्रयोग गरिरहेको छ र मंगलबारको मतदानमा देखिएका दुविधा र चिन्ता पनि फरक छैन । चीनका कुटनीतिज्ञ र आधिकारिक सरकारी मुखपत्रहरु अमेरिकी निर्वाचनको नतिजा र जारी प्रतिस्पर्धाबारे धेरै हदसम्म मौन छन् ।

तर, उनीहरुले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रजातन्त्रको पहरेदारका रुपमा आफुलाई उभ्याउने वासिङ्टन र राष्ट्रपति ट्रम्पको टिप्पणीबारेको भिन्ततालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले बुधबार ‘अमेरिकाको गहिरो विभाजन लोकतान्त्रिक मुल्यको विपक्ष छ’ शीर्षकमा टिप्पणी प्रकाशित गरेको छ ।

‘सभ्य र सुन्दर ढंगले प्रजातन्त्रको अभ्यास गरिन्छ । जसले निर्वाचन गुमाउँछ । निर्वाचन गुमाउनेले शान्त रहेर नतिजा स्वीकार्दै भिन्नता कम गरेर देशलाई अघि बढाउनका लागि अपिल गर्ने अपेक्षा गरिएको हुन्छ । तर, आजकल अमेरिकामा यस्तो हुन्छ जस्तो देखिँदैन,’ वाङ वेनवेनले लेखेका छन् ।

कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको द बेइजिङ न्युज पत्रिकाले लेखेको छ,‘ २०२० को निर्वाचन जोसुकैले जितोस्, अमेरिकी समाज जस्तो थियो, त्यस्तो अवस्थामा फर्कन सक्दैन ।’ डोनाल्ड ट्रम्पको कार्यकाल र अहिलेको प्रतिस्पर्धाले अमेरिकी मान्यताहरुलाई च्यातिरहेको उसको ठम्याई छ । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनले कुनै समय स्वतन्त्रता र प्रजातान्त्रिक अधिकार खोज्नेहका लागि अमेरिका ‘प्रकाश’ बन्ने बताएका थिए ।

यद्यपी, रेगनले आफ्नै कार्यकालमा तानाशाहहरुलाई समर्थन गरेकाले उनको दाबी आलोचनामुक्त छैन । तर, धेरैका लागि यो सन्देश शक्तिशाली र प्रेरणादायी भने रहिआएको छ । यद्यपी, यस वर्षको निर्वाचनले उनको सन्देशमा दीघकार्लिन क्षति पुर्याउन सक्छ र प्रजातन्त्रलाई कसरी सञ्चालन गर्ने भनेर अमेरिकाले अरुलाई सिकाउँदा उसको विश्वसनीयतामाथि पनि प्रश्न उठिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्