आइसोलेसनबाट मन्त्रीको प्रश्नः निर्धारित लक्ष्य पूरा नहुने अड्चन के हो ? आयोजनाहरुको प्रगति के छ ?



काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोनाभाइरसबाट सङ्क्रमति दुई सातादेखि आइसोलेसनमा हुनुहुन्छ । मन्त्रालय गएर नियमित काम गर्न नसकेपछि पनि मन्त्री नेम्वाङले मन्त्रालयका कामहरुमा उत्तिकै सक्रियता र चासो देखाइरहनुभएको छ ।

विहीवार मन्त्रालय अन्तर्गतका महाशाखा, विभाग र आयोजना कार्यालयका प्रमुखहरुसँगको भर्चुअल बैठकमा मन्त्री नेम्वाङले चालु आर्थिक वर्षमा हालसम्मको समयका लागि निर्धारित लक्ष्य पूरा गर्ने सन्दर्भका काम भए/नभएको खोजी गर्नुभयो । निर्धारित लक्ष्य पूरा नहुनुका अड्चनबारे जिज्ञासा राख्दै मन्त्री नेम्वाङले निर्माण, सुधार र परिवर्तनका काममा ढिलासुस्ती, हेलचेक्र्याँई र लापरवाही हुन नदिन निर्देशन दिनुभयो ।

मन्त्री नेम्वाङले पूर्वाधार निर्माणको क्षेत्रअन्तर्गत सडक विभागका महानिर्देशक सहित आयोजना कार्यालयका प्रमुखहरुले सबै प्रमुख आयोजनाहरुको प्रगतिको अवस्थावारे जानकारी दिनुभयो । उहाँले यातायात ब्यवस्था विभाग अन्तर्गत कात्तिक महिनाका लागि निर्धारित कामहरुको प्रगतिको विवरण लिई निर्धारित लक्ष्य पूरा भए/नभएको खोजी गर्नुभयो ।

मन्त्री नेम्वाङले इम्बोस्ट नम्बर प्लेट देवनागरि लिपीमा बनाउने विषयमा चालू प्रकृया, स्मार्ट लाइसेन्स छपाईको प्रकृया, राजधानी काठमाण्डौँ प्रवेश गर्ने सबै सवारी सफाई गरेर मात्रै प्रवेश गराउने प्रकृया, ट्याक्सीहरुको मापदण्ड निर्धारण गर्ने कार्य लगायतका विषयमा चासो राख्दै प्रगतिको अवस्था बुझ्नुभएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले योजना अनुसार नै अघि बढेको जानकारी दिनुभयो । हमालले काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन आदेश राजपत्रमा प्रकाशन भइसकेको जानकारी दिनुभयो ।

त्यसैगरी स्मार्ट लाइसेन्स १४ लाख खरिद प्रकिया अघि बढेको, ट्याक्सीको मापदण्ड निर्धारण गर्ने तयारी गर्ने अन्तिम चरणमा, उपत्यका भित्रने सवारी धोएर मात्रै भित्रन पाउने कार्यविधि बनिसकेको र मंसिर १५ भित्र टेन्डर खोलिने जानकारी दिनुभयो । उहाँले लामो र मध्यम दूरीको बसमा अनलाइन टिकेटिङ सिस्टम निर्माण गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङले देशभरका रुग्ण आयोजनाहरुमा सम्बन्धित कार्यालयहरुबाट भइरहेका काम, लामो समयदेखि पूरा नभएका सडक तथा पुल आयोजना सम्पन्न गर्ने काम, बाढी, पहिरो लगायत विपत्तिबाट क्षतिग्रस्त भएका आयोजनाको पुनर्निर्माणको अवस्था, रणनीतिक तथा प्राथमिकताका सडकहरु, राष्ट्रिय गौरबका आयोजनाहरु लगायतबारे प्रत्येक आयोजना कार्यालयका प्रमुख वा क्षेत्रीय प्रमुखबाट प्रगतिको विवरण माग गर्नुभएको थियो ।

“देशभरीका आयोजनाहरुको प्रगति सुस्त भएको जस्तो अवस्था छ । सबैको ध्यान जाने काठमाण्डौँका सडकहरुको विस्तार र मर्मत तत्कालै सक्नुपर्ने अवस्था छ”, भर्चुअल बैठकमा मन्त्री नेम्वाङले निर्देशन दिँदै भन्नुभयो, “संसारका मानिस आउने राजधानी सहित सबै आयोजनाहरुको निर्धारित लक्ष्य समयमै पूरा गराउनतर्फ लाग्नुहोस् ।”

मन्त्री नेम्वाङले समयमै काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीलाई कालोसूचिमा राख्ने मन्त्रालयको नीति भएपनि मातहतका दुई वटा कार्यालयले मात्रै दुई वटा कम्पनीलाई कालोसूचिमा राखेको उल्लेख गर्दै अन्यत्र यस्ता कदम नचालिनु आयोजनाहरुमा लक्ष्यअनुसार नै काम भएको आफूले बुझ्ने वताउनुभयो । “हिँजोको निर्देशन काम नगर्नेसँग सम्झौता नगर्नुस् भन्ने थियो, आज काम नगर्नेलाई कालोसूचिमा नराखिए मैले प्रगति भएछ भन्ने बुझ्छु”, मन्त्री नेम्वाङले भन्नुभयो ।

सडक विभागका महानिर्देशक केशबकुमार शर्माले बुधबारसम्म करिब १० प्रतिशत खर्च भएको वताउनुभयो । उहाँले मनसुन असोज अन्तिमसम्म रहँदा धेरै ठाउँमा कालोपत्रे तथा ग्राभल गर्न समस्या भएको, कोभिड–१९ सङ्क्रमण बढ्दा झनै समस्या भएको र कात्तिक शुरु भएपछि आयोजनाहरुमा निर्माणको प्रगति उल्लेख्य रहेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाको गौशाला–चाविलमा कालोपत्रे शुरु हुने भनेकोमा निर्माण सामग्री ल्याउन अवरोध हुँदा काम हुन सकेको छैन । जिल्ला डिभिजन कार्यालय काठमाडौंले निर्माण सामग्री अन्य ठाउँबाट ल्याएर भएपनि कालोपत्रे गर्ने तयारी भएको जानकारी दिइएको छ ।

रेल विभागले कात्तिक मसान्तसम्म सक्ने भनेका काम मङ्सिर १५ सम्म सक्ने विभागकी महानिर्देशक प्रमिला बज्राचार्यले जानकारी गराउनुभयो । मुख्यगरी पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अन्तगर्तको काकडाभिट्टा–इनरुवा खण्ड र वर्दिबास–इनरुवा खण्डको विषयमा मन्त्री नेम्वाङले जानकारी लिनुभएको थियो । काँकडाभिट्टा–इनरुवा खण्डमा जग्गा अधिग्रहणको काम बाँकी रहेको छ भने वर्दिबास–इनरुवा खण्डमा रुख कटानका काम बाँकी रहेका छन् ।

बैठकमा मन्त्री नेम्वाङले जुनसुकै हालतमा सबै कार्यालयहरुले निर्धारित लक्ष्य पूरा गर्नुपर्ने वताउनुभयो । नीतिगत समस्या हल गर्न मन्त्रालयबाट उचित सहयोग हुने भन्दै उहाँले आयोजनाहरुको कामलाई तीब्र पार्न कुनै पनि प्रकारको सम्झौता नगर्न निर्देशन दिँदै अव ढिलासुस्ती सैह्य नहुने वताउनुभयो । उहाँले कोरोना महामारीका वीच निर्माण क्षेत्रमा खटिने सबैलाई धन्यवाद पनि दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ०६६ सालदेखिका ठेक्काहरु समेत पूर्ण नभएकाले प्रभावकारी अनुगमनमा जानुपर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्