फिदिममा १४ जना सङ्क्रमित थपिए, चार जना निको



पाँचथर, १९ कात्तिक

पाँचथरको फिदिममा कोरोनाभाइरसका १४ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्वापोका कन्ट्र्याक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा सङ्क्रमण देखिएको हो । फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिला सहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दी समेत रहेका छन् ।

आज आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरे सहित स्थानीय ब्यवसायीहरुमा सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जाल मार्फत सङ्क्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

यस्तै पछिल्लो पटक फिदिम स्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् । पछिल्लो संख्यासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ ।

हिँजो मात्रै मिक्लाजुङका एक जनामा सङ्क्रमण देखिएको थियो । जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा सङ्क्रमण देखिए पनि पछिल्लो पटक ठूलो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्